लगानीकर्तालाई दीर्घकालीन लगानीको अवसर, चार वाणिज्य बैंकले ल्याउँदै १४ अर्ब रुपैयाँको डिबेन्चर

१७ श्रावण २०८३, आईतवार १५:१०

काठमाडौं । चार वाणिज्य बैंकले ऋणपत्र (डिबेन्चर) जारी गर्ने तयारीलाई अघि बढाएका छन्। नेपाल धितोपत्र बोर्ड (सेबोन) समक्ष अनुमति माग्दै चार वाणिज्य बैंकले आवेदन दिएका हुन् ।

प्रस्तावित निष्कासनअनुसार बैंकहरूले कुल १ करोड ४० लाख इकाइ ऋणपत्र बजारमा ल्याउने योजना बनाएका छन् जसको कुल आकार १४ अर्ब रुपैयाँ पुग्नेछ।बैंकहरूले प्रतिइकाइ एक हजार रुपैयाँ अंकित मूल्य निर्धारण गरेका छन्। सोही आधारमा १ करोड ४० लाख इकाइ ऋणपत्रबाट १४ अर्ब रुपैयाँ बराबरको लगानी संकलन गर्ने लक्ष्य राखिएको हो। अनुमति प्राप्त भएपछि यी ऋणपत्र संस्थागत लगानीकर्ता तथा सर्वसाधारणका लागि निष्कासन गरिनेछन्।

चार बैंकमध्ये सबैभन्दा धेरै ऋणपत्र निष्कासनको प्रस्ताव एनएमबि बैंकले गरेको छ। बैंकले ‘७ वर्षे ७ प्रतिशत ब्याजदर पावर बन्ड–१’ शीर्षकमा ५० लाख इकाइ ऋणपत्र जारी गर्न बोर्डमा अनुमति मागेको छ। प्रतिइकाइ एक हजार रुपैयाँ अंकित मूल्यका आधारमा यस निष्कासनबाट बैंकले ५ अर्ब रुपैयाँ बराबरको रकम जुटाउने  छ।

अन्य तीन बैंकएभरेष्ट बैंक, सिटिजन्स बैंक र राष्ट्रिय वाणिज्य बैंकले भने समान परिमाणमा ऋणपत्र निष्कासनको प्रस्ताव गरेका छन्। यी प्रत्येक बैंकले ३०–३० लाख इकाइ ऋणपत्र जारी गर्न अनुमति मागेका छन्। तीनवटै बैंकको प्रस्तावित निष्कासनको संयुक्त आकार ९ अर्ब रुपैयाँ बराबर हुने देखिन्छ।

बैंक तथा वित्तीय संस्थाहरूले पछिल्ला वर्षहरूमा दीर्घकालीन स्रोत व्यवस्थापन र नियामकीय आवश्यकताहरू पूरा गर्न ऋणपत्र निष्कासनलाई प्राथमिकता दिँदै आएका छन्। यस्तो ऋणपत्रमार्फत संकलित रकम बैंकहरूले दीर्घकालीन कर्जा प्रवाह, लगानी विस्तार तथा वित्तीय स्रोत सुदृढीकरणमा उपयोग गर्ने गरेका छन्। निश्चित अवधिका लागि जारी गरिने ऋणपत्रमा लगानीकर्ताले पूर्वनिर्धारित ब्याजदरअनुसार नियमित प्रतिफल प्राप्त गर्ने व्यवस्था हुन्छ।

नेपालमा बैंकहरूले जारी गर्ने अधिकांश ऋणपत्रको अंकित मूल्य प्रतिइकाइ एक हजार रुपैयाँ कायम गरिएको हुन्छ। यस्ता ऋणपत्र संस्थागत लगानीकर्तासँगै सर्वसाधारणलाई समेत बिक्री गरिन्छ। सामान्यतः पाँचदेखि १० वर्ष अवधिका ऋणपत्र बजारमा ल्याइने र तिनमा निश्चित ब्याजदर निर्धारण गरिने अभ्यास रहँदै आएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*