प्रिमियममा स्थानीय शेयर निष्काशनको चर्चा बीच इप्पानले भन्यो- ‘रु. १०० मै दिनुपर्छ’

१७ श्रावण २०८३, आईतवार १७:३४

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जलविद्युत आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीय बासिन्दालाई उपलब्ध गराइने सेयर अंकित मूल्य अर्थात् प्रतिकित्ता १०० रुपैयाँमै उपलब्ध गराउन आफ्ना सदस्य कम्पनीहरूलाई आग्रह गरेको छ।

इप्पानले आइतबार जारी गरेको धारणा अनुसार केही जलविद्युत आयोजनाको साधारण सेयर (आईपीओ) निष्काशन प्रक्रिया नियामकीय कारणले लामो समयदेखि प्रभावित भएपछि केही प्रवर्द्धक कम्पनीहरूले स्थानीय प्रभावित बासिन्दाका लागि प्रिमियम मूल्यमा सेयर निष्काशन गर्ने विकल्पबारे छलफल गरिरहेको विषयप्रति संस्थाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

संस्थाले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम ९ को उपनियम (४) अनुसार स्थानीय बासिन्दालाई लाभान्वित गर्ने उद्देश्यले १० प्रतिशत सेयर छुट्याउने कानुनी व्यवस्था रहेकाले सोही व्यवस्था अनुरूप अंकित मूल्यमा नै सेयर उपलब्ध गराउन सबै सदस्य कम्पनीलाई अनुरोध गरेको छ।

इप्पानका अनुसार जलविद्युत आयोजना केवल लगानीको माध्यम नभई स्थानीय समुदायसँगको विश्वास, सहकार्य र साझेदारीमा आधारित विकासको अभियान पनि हो। आयोजना निर्माणका क्रममा जग्गा उपलब्ध गराउने, वातावरणीय तथा सामाजिक प्रभाव बेहोर्ने तथा निर्माण अवधिका असुविधा सहने स्थानीय समुदायलाई आयोजना स्वामित्वमा सहभागी गराउने उद्देश्यले नै स्थानीयबासीका लागि सेयरको व्यवस्था गरिएको संस्थाको भनाइ छ।

स्थानीयका लागि छुट्याइएको सेयर प्रिमियम मूल्यमा निष्काशन गरिए उनीहरूको पहुँच सीमित हुने, अपनत्वको भावना कमजोर हुने तथा आयोजना र समुदायबीच लामो समयदेखि निर्माण भएको विश्वासको सम्बन्धमा नकारात्मक असर पर्न सक्ने इप्पानले जनाएको छ।

संस्थाले स्थानीयलाई अंकित मूल्यमा सेयर उपलब्ध गराउँदा उनीहरू आयोजनाका वास्तविक साझेदार बन्ने, स्वामित्व र अपनत्वको भावना अभिवृद्धि हुने, आयोजना निर्माण तथा सञ्चालनका क्रममा देखिने सामाजिक विवाद र अवरोध न्यून हुने तथा स्थानीयस्तरमा सहयोग र सहकार्य थप सुदृढ हुने विश्वास व्यक्त गरेको छ। यसले स्थानीय समुदायलाई आयोजनाबाट दीर्घकालीन लाभ प्राप्त गर्ने अवसर सुनिश्चित गर्दै आर्थिक सशक्तीकरण, स्थानीय विकास र सामाजिक सद्भावमा समेत टेवा पुग्ने इप्पानको भनाइ छ।

इप्पानले नेपाल सरकार, सम्बन्धित नियामक निकाय तथा प्रवर्द्धक कम्पनीहरूलाई स्थानीय प्रभावित बासिन्दाको हित, जलविद्युत आयोजनाको दीर्घकालीन स्थायित्व तथा निजी क्षेत्र र स्थानीय समुदायबीचको सुमधुर सम्बन्धलाई प्राथमिकतामा राख्दै स्थानीयका लागि छुट्याइने सेयर अंकित मूल्यमा उपलब्ध गराउने नीति निरन्तर कायम राख्न आग्रह गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*