सुस्ता बनि रहेको बाँध भारतीय एसएसबीको कब्जामा, परराष्ट्र मन्त्रालय मौन

काठमाडौँ । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा आइतबार भारतीय सशस्त्र सीमा बल (एसएसबी) नेपाली भूमिमा प्रवेश गरेर निर्माणाधीन अस्थायी बाँध भत्काएको छ । एसएसबीको टोलीले नेपालतर्फ प्रवेश गरी थारु टोलमा निर्माण भइरहेको माटोको कच्ची बाँध भत्काएको हो ।
आइतबार दिउँसो करिब ३ः३० बजेतिर सादा पोसाकमा रहेका करिब १५ जना र हतियारसहित थप सुरक्षाकर्मी गरी झण्डै ६० जनाको एसएसबी टोली नेपाली भूमिमा प्रवेश गरेको थियो । उनीहरू नेपाल प्रवेश गरेपछि स्थानीयवासी चकित परेका थिए । एसएसबीले दादागिरी शैलीमा नेपाली भूमिमा निर्माण भइरहेको अस्थायी बाँध भत्काएको हो ।
सुस्ता गाउँपालिका–५ स्थित थारु टोलमा बन्दै गरेको करिब १३२ मिटर लामो माटोको कच्ची बाँध एसएसबी टोलीले डोजर वा अन्य उपकरण प्रयोग नगरी हातैले भत्काएको हो । बाँध भत्काउन थालेपछि स्थानीयवासी घटनास्थलमा पुगेका थिए र चर्को विरोध जनाएका थिए । तर, हतियारसहित ठूलो संख्यामा आएको टोलीका कारण उनीहरूले प्रतिरोध गर्न नसकेको बताइएको छ ।
सुस्ता बचाउ युवा अभियानका संयोजक योगेन्द्र गौतमले भारतीय एसएसबी दुई देशबीचको सीमा मानिने सिमलको रुखबाट करिब ३०० मिटर नेपालतर्फ प्रवेश गरेर बाँध भत्काएको दाबी गरे । उनका अनुसार स्थानीयले रोक्ने प्रयास गरे पनि हतियारधारी सुरक्षाकर्मी भएकाले उनीहरू सफल हुन सकेनन् । घटनाका क्रममा दुवै पक्षबीच विवादसमेत भएको उनले जानकारी दिए ।
यो पहिलो पटक भने होइन । गत असार महिनामा पनि भारतीय सुरक्षाकर्मी सुस्ता क्षेत्रमा प्रवेश गरेर बाँध निर्माणको काम रोक्न दबाब दिएका थिए । त्यसबेला पनि भारतीय पक्षको दबाबपछि निर्माण कार्य रोकिएको थियो । त्यसयता पुनः निर्माण अघि बढाइए पनि आइतबार एसएसबी टोली आएर बाँध नै भत्काएको हो ।
निरन्तर भारतिय एसएसबिको टोलि नेपाल भित्र प्रवेश गरेर नेपालीहरुलाई धक्की र बाँध नै भत्काउन समेत परराष्ट्र मन्त्रालय भने मौन रहेको छ । निरन्तर घटना बढ्दै गएको भएपनि परराष्ट्र भने कुनै प्रतिक्रिया दिइरहेको छैन । यसविषयमा परराष्ट्र मन्त्रालयका सहसचिव / प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीसँग सम्पर्क गर्ने खोज्दा उनी सम्पर्कमा नै आउन चाहेनन् । शुशासनको जगमा बनेको सरकारले नेपाली भुभागमा भारतियको राज हुँदा समेत मौन बसेको भन्दै स्थानियहरुले विरोध गरिरहेका छन् ।











