महुली लघुवित्तको नाफासँगै प्रतिशेयर आम्दानीमा उछाल

१८ श्रावण २०८३, सोमबार ०६:४४

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले १९ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्म १ करोड ७० लाख रुपैयाँ मात्रै खुद नाफा गरेको कम्पनीले गत वर्ष भने १०३६.४० प्रतिशत बढी खुद नाफा गरेको हो ।

त्यसैगरी गत वर्ष कम्पनीले ४९ करोड ७४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । कम्पनीले अघिल्लो वर्ष ३५ करोड ५९ लाख रुपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेको थियो । कम्पनीको कुल सञ्चालन आम्दानी पनि ३९ करोड ५१ लाख रुपैयाँबाट बढेर ५३ करोड ८५ लाख रुपैयाँ नाघेको छ ।

आम्दानी बढेसँगै कम्पनीको सञ्चालन मुनाफा २२ करोड ३५ लाख रुपैयाँबाट बढेर २७ करोड ६१ लाख रुपैयाँ नाघेको छ भने वितरणयोग्य मुनाफा ४ करोड ७७ लाख रुपैयाँबाट ह्वात्तै बढेर १६ करोड ५० लाख रुपैयाँ नाघेको छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि ४.६० रुपैयाँबाट बढेर ४९.८८ रुपैयाँ पुगेको छ भने खराब कर्जा १२.१६ प्रतिशतबाट घटेर ९.८० प्रतिशतमा झरेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ २२७.९१ रुपैयाँ रहेको छ ।

चुक्ता पुँजी ३८ करोड ७४ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भ कोषमा ३३ करोड ६ लाख रुपैयाँ सञ्चिति रहेको छ। कम्पनीले ६ अर्ब १७ करोड ३९ लाख रुपैयाँ कर्जा प्रवाह गरी २ अर्ब ७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । कम्पनीको बेसरेट १२.६८ प्रतिशतबाट घटेर ११.३० प्रतिशतमा झरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*