एक वर्षमा जीवन बीमकको व्यवसाय १२.४३% ले बढ्यो, वृद्धिदरमा आक्रामक आइएमई र सिटिजन

१८ श्रावण २०८३, सोमबार १२:११

काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०८२।०८३ मा दुई खर्ब १ करोड ९१ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालित १४ वटा जीवन बीमा कम्पनीहरुले उक्त बीमा शुल्क आर्जन गरेका हुन् ।

विवरण अनुुसार अघिल्लो आर्थिक वर्ष २०८१।०८२ को तुलनामा जीवन बीमा कम्पनीहरुको बीमा व्यवसाय १२.४३ प्रतिशतले बृद्धि भएको छ । कम्पनीहरुले अघिल्लो आर्थिक वर्षमा १ खर्ब ७७ अर्ब ९० करोड ६३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेक थिए । कम्पनीहरुले आफ्नो बीमा व्यवसायलाई उल्लेख्य मात्रामा बृद्धि गराएका छन् ।

कुल बीमा शुल्क आर्जनको आधारमा नेपाल लाइफ इन्स्योरेन्स र नेशनल लाइफ इन्स्योरेन्स अग्रस्थानमा छन् भने बृद्धिदरका आधारमा आइएमई लाइफ इन्स्योरेन्स र सिटिजन लाइफ अगाडि रहेका छन् ।

नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा आफ्नो व्यवसाय १२.३४ प्रतिशतले बृद्धि गर्दै ५३ अर्ब ६८ करोड ८४ लाख रुपैयाँ पुगाउँन सफल भएको छ ।

दोस्रो नम्बरमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले अघिल्लो आवको तुलनामा ११.०६ प्रतिशतले बढाएर २४ अर्ब ६८ करोड रुपैयाँ र एलआइसी नेपालले ६.५७ प्रतिशतले बढाएर २१ अर्ब २३ करोड ३९ लाख रुपैयाँ पुर्याएको छ ।

त्यस्तै, हिमालयन लाइफ इन्स्योरेन्सको ब्यवसाय ५.१६ प्रतिशतले बढेर १८ अर्ब ५६ करोड, सूर्यज्योति लाइफको १६.५९ प्रतिशतले बढेर १२ अर्ब ९० करोड र्र एशियन लाइफको १३.५३ प्रतिशतले बढेर १० अर्ब ४३ करोड पुगेको छ ।

सरकारी बीमा कम्पनीको राष्ट्रिय जीवन बीमा कम्पनीको ब्यवसाय भने २.२९ प्रतिशतले घटेर ९ अर्ब ६४ करोड रुपैयाँमा खुम्चिएको छ ।

यता, सिटिजन्स लाइफको ब्यवसाय २४.९३ प्रतिशतले बढेर ९ अर्ब १६ करोड, सानिमा रिलायन्स लाइफको १६.९९ प्रतिशतले बढेर ७ अर्ब ९९ करोड, आएइमई लाइफको ३७.९६ प्रतिशतले बढेर ७ अर्ब ४५ करोड, मेट लाइफको ९.६२ प्रतिशतले बढेर ६ अर्ब ८६ करोड, रिलायबल नेपालको २४ प्रतिशतले बढेर ६ अर्ब ४२ करोड, प्रभु महालक्ष्मी लाइफको २१ प्रतिशतले बढेर ६ अर्ब ३३ करोड र सन नेपाल लाइफको १६.८० प्रतिशतले बढेर ४ अर्ब ६३ करोड रुपैयाँ पुगेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*