जीवन बीमकको नवीकरण बीमाशुल्क ९.३६ प्रतिशतले बढ्यो, आइएमई र सिटिजनको उच्च वृद्धि

१८ श्रावण २०८३, सोमबार १२:३३

काठमाडौं । गत आर्थिक वर्षमा स्थापित १४ वटा जीवन बीमा कम्पनीहरूले १ खर्ब ५० अर्ब ६१ करोड ५७ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेका छन् । यो अघिल्लो वर्षको १ खर्ब ३७ अर्ब ७३ करोड ३ लाख रुपैयाँको तुलनामा ९.३६ प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीहरूबाट जारी भएको बीमा पोलिसीलाई सक्रिय राख्न निश्चित अवधिमा प्रिमियम तिरेर नवीकरण गरिरहनुपर्ने हुन्छ । त्यस्तो बीमालेख नवीकरण गरेर कम्पनीहरूले ठूलो मात्रामा नवीकरण बीमाशुल्क संकलन गर्दै आएका छन् ।

गत आवमा सबैभन्दा धेरै नेपाल लाइफ एक्लैले ४० अर्ब ६० करोड ९२ लाख रुपैयाँ, नेशनल लाइफले १७ अर्ब ७४ करोड ५ लाख रुपैयाँ, एलआईसी नेपालले १७ अर्ब ६९ करोड ६६ लाख रुपैयाँ र हिमालयन लाइफले १५ अर्ब ६२ करोड ७९ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेका नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।

त्यसपछि सूर्यज्योति लाइफले ९ अर्ब १६ करोड ११ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ८ अर्ब ८४ करोड २८ लाख रुपैयाँ, एशियन लाइफले ७ अर्ब ७२ करोड ५८ लाख रुपैयाँ, सिटिजन लाइफले ६ अर्ब ६ करोड १२ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ५ अर्ब ६५ करोड ८९ लाख रुपैयाँ र मेटलाइफले ५ अर्ब २१ करोड ९१ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेको छ ।

त्यसैगरी आइएमई लाइफले ४ अर्ब ६७ करोड ९९ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफको ४ अर्ब १८ करोड ४९ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफको ४ अर्ब १४ करोड ७० लाख रुपैयाँ र सन नेपाल लाइफले ३ अर्ब २६ करोड ३ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको छ ।

यता वृद्धिदरको आधारमा हेर्ने हो भने आइएमईको २५.७६ प्रतिशत, सिटिजनको १७.५८ प्रतिशत, रियायबल नेपालको १७.४३ प्रतिशत, सन नेपालको १६.४१ प्रतिशत, सानिमा रिलायन्सको १५.८५ प्रतिशत, प्रभु महालक्ष्मीको १५.४६ प्रतिशत र सूर्यज्योतिको १४.५० प्रतिशतले बढेको छ ।

त्यसपछि एशियनको ९.५८ प्रतिशत, नेपालको ८.८९ प्रतिशत, मेटलाइफको ८.५५ प्रतिशत, नेशनलको ८.३१ प्रतिशत, हिमालयनको ५.२६ प्रतिशत, एलआईसी नेपालको ४.७९ प्रतिशत र सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको १.१२ प्रतिशतले नवीकरण बीमाशुल्क आर्जनमा वृद्धि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*