चौथो त्रैमाससम्ममा जीवन बीमकको प्रथम बीमाशुल्क २३% ले बढ्यो, वृद्धिदरमा अधिकांश कम्पनी आक्रामक

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरूको गत आर्थिक वर्ष २०८२।०८२ मसान्तसम्मको तथ्याङ्क सार्वजनिक गरेको छ । उक्त तथ्याङ्कअनुसार कम्पनीहरूको प्रथम बीमाशुल्क आर्जन २२.९७ प्रतिशतले बढेको हो ।
अघिल्लो आर्थिक वर्ष २०८१।०८२ मा १४ जीवन बीमा कम्पनीहरूले ४० अर्ब १७ करोड ६० लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेकोमा गत आर्थिक वर्षको अवधिमा ४९ अर्ब ४० करोड ३३ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।
गत आवको चौथो त्रैमाससम्मको अवधिमा सर्वाधिक प्रथम बीमा शुल्क आर्जन गर्ने नेपाल लाइफ अघि रहेको छ । कम्पनीले गत आर्थिक वर्षको १२ महिनामा १३ अर्ब ७ करोड ९२ लाख रुपैयाँ नयाँ ब्यवसाय आर्जन गरेको हो । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २४.६२ प्रतिशतले बढी हो ।
धेरै प्रथम बीमा शुल्क आर्जन गर्ने दोस्रो नम्बरमा रहेको नेशनल लाइफको १८.७३ प्रतिशतले बढेर ६ अर्ब ९४ करोड ५२ लाख रुपैयाँ पुगेको छ ।
सर्वाधिक प्रथम बीमा शुल्क आर्जन वृद्धि गर्नेमा आइएमई लाइफ र सिटिजन लाइफ अघि रहेको छ । गत आर्थिक वर्षमा आइएमई लाइफको प्रथम बीमा शुल्क अघिल्लो आर्थिक वर्षको तुलनामा ६४.९८ प्रतिशतले बढेर २ अर्ब ७७ करोड ४२ लाख रुपैयाँ पुगेको छ भने सिटिजनको ४२.२७ प्रतिशतले बढेर ३ अर्ब १० करोड पुगेको हो ।
समिक्षा अवघिमा प्रथम बीमा शुल्क सूर्यज्योति लाइफको २२ प्रतिशतले बढेर ३ अर्ब ७४ करोड, एलआईसी नेपालको ३ अर्ब ५३ करोड, हिमालयन लाइफको४ प्रतिशतले बढेर २ अर्ब ९३ करोड, एशियन लाइफको २६ प्रतिशतले बढेर २ अर्ब ७१ करोड, सानिमा रिलायन्सको १९ प्रतिशतले बढेर २ अर्ब ३३ करोड, रिलायबल नेपाल लाइफको३८ प्रतिशतले बढेर २ अर्ब २७ करोड रुपैयाँ पुगेको छ ।
यता, प्रभु महालक्ष्मी लाइफको २ अर्ब १५ करोड, मेट लाइफको १ अर्ब ६४ करोड, सन नेपाल लाइफको १ अर्ब ३७ करोड र राष्ट्रिय जीवन बीमा कम्पनीको ७९ करोड ७६ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन भएको छ ।











