वाणिज्य बैंकका सीईओसँग अर्थमन्त्रीको साढे दुई घण्टा संवाद, ‘बैंकको पैसा उत्पादनमा लगाऔँ, अर्थतन्त्र दौडाऔँ’

१९ श्रावण २०८३, मंगलवार १९:१६

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको अर्थतन्त्रलाई पुनः चलायमान बनाउने अभियानअन्तर्गत निजी क्षेत्रपछि बैंकिङ क्षेत्रसँग पनि प्रत्यक्ष संवाद थालेका छन्। उनले मंगलबार अर्थ मन्त्रालयमा २० वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)सँग करिब साढे दुई घण्टा लामो छलफल गरेका हुन्।

पछिल्लो समय अर्थमन्त्री वाग्लेले अर्थतन्त्रमा देखिएका समस्या, लगानी विस्तार, उत्पादन वृद्धि तथा निजी क्षेत्रको मनोबल उकास्ने उद्देश्यले सरोकारवालासँग निरन्तर संवादलाई प्राथमिकतामा राख्दै आएका छन्। गत साता मात्रै उनले दुई दर्जनभन्दा बढी उद्योगी–व्यवसायीसँग करिब पाँच घण्टा लामो संवाद गरेका थिए। व्यवसायीहरूका गुनासा, सुझाव र अपेक्षा सुनेपछि त्यसको अर्को कडीका रूपमा उनले बैंकिङ क्षेत्रसँग छलफल गरेका हुन्।

व्यवसायीहरूले उठाएका कर्जा प्रवाह, लगानी विस्तार, वित्तीय सहजता तथा उत्पादनशील क्षेत्रमा वित्तीय स्रोत परिचालनका विषयलाई केन्द्रमा राखेर अर्थमन्त्रीले बैंकका सीईओहरूसँग विस्तृत छलफल गरेका थिए।

छलफलको सुरुवातमै अर्थमन्त्री वाग्लेले यो बैठक सामान्य औपचारिक कार्यक्रम नभई नेपालको अर्थतन्त्रलाई पुनः गति दिने साझा अभियानको अर्को चरण भएको स्पष्ट पारे। निजी उद्योगी–व्यवसायीसँग घनिभूत संवादपछि अब वित्तीय प्रणालीको नेतृत्व गरिरहेका बैंकहरूसँग छलफल गर्न आवश्यक ठानेर बैठक आयोजना गरिएको उनले बताए। “आजको बैठक सामान्य औपचारिक छलफल नभई यो नेपालको अर्थतन्त्रलाई पुनः गति दिने साझा अभियानको अर्को चरण हो। निजी उद्योगीहरूसँगको घनिभूत संवादपछि आज हामी वित्तीय प्रणालीको नेतृत्व गरिरहेका तपाईँहरूसँग बसेका छौँ। किनकि उत्पादन, लगानी, बचत, वित्तीय विश्वास र आर्थिक गतिविधिको केन्द्रमा बैंकिङ प्रणाली नै छ,” उनले भने।

उनले वाणिज्य बैंकहरूलाई अर्थतन्त्रको सबैभन्दा महत्वपूर्ण संगमको संज्ञा दिँदै बैंकिङ प्रणालीले अर्थतन्त्रको वास्तविक अवस्था सबैभन्दा नजिकबाट अनुभूति गर्ने बताए। “वास्तवमा, वाणिज्य बैंकहरू अर्थतन्त्रका सबैभन्दा महत्वपूर्ण संगम हुन्। यहाँ बचतकर्ता पनि आउँछन्, उद्यमी पनि आउँछन्, किसान पनि आउँछन्, उद्योगी पनि आउँछन्, लगानीकर्ता पनि आउँछन् र नयाँ व्यवसाय सुरु गर्न चाहने युवा पनि आउँछन्। त्यसैले अर्थतन्त्रको वास्तविक मनोविज्ञान, बजारको आत्मविश्वास, लगानीकर्ताको सोच र भविष्यप्रतिको अपेक्षा सबैभन्दा स्पष्ट रूपमा यहाँहरूले नै महसुस गर्नुहुन्छ,” उनले भने।

अर्थमन्त्री वाग्लेले सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत नेपालको आर्थिक रूपान्तरणका लागि स्पष्ट नीति र दिशा तय गरिसकेको उल्लेख गर्दै अब सरकारको सम्पूर्ण ध्यान त्यसको प्रभावकारी कार्यान्वयनमा केन्द्रित रहेको बताए। “बजेटमार्फत हामीले नेपालको आर्थिक रूपान्तरणका लागि एउटा स्पष्ट दिशा तय गरेका छौँ। अब हाम्रो ध्यान कार्यान्वयनमा छ। त्यसैले आज म बजेट कार्यान्वयनसँगै अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न यहाँहरूको अनुभव र सुझाव सुन्न आएको छु,” उनले भने।

उनले सरकारले नियामकीय, कानुनी तथा संस्थागत सुधारलाई निरन्तर अगाडि बढाइरहेको उल्लेख गर्दै ती सुधार पर्याप्त छन् वा छैनन् भन्ने विषयमा बैंकिङ क्षेत्रबाट स्पष्ट सुझाव अपेक्षा गरेको बताए। “सरकारका तर्फबाट हामी नियामकीय, कानुनी र संस्थागत सुधारको प्रक्रिया अगाडि बढाइरहेका छौँ। तर एउटा प्रश्न हामीले आफैँलाई सोध्नुपर्छ— के यी सुधारहरू पर्याप्त छन्? अझ के गर्नुपर्छ? आज म विशेष गरी यही विषयमा खुला र स्पष्ट छलफल चाहन्छु,” अर्थमन्त्री वाग्लेले भने।

अर्थमन्त्रीले हामीले अर्थतन्त्र दौडाउन सहयोग मागेः ज्ञवाली

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले बैठक अत्यन्त सकारात्मक रहेको प्रतिक्रिया दिए। उनका अनुसार छलफलको मूल विषय अर्थतन्त्रलाई कसरी गति दिने, बैंकमा थुप्रिएको तर परिचालन हुन नसकेको लगानीयोग्य पुँजीलाई कसरी उत्पादनशील क्षेत्रमा लैजाने र उद्योग–व्यवसायलाई कसरी थप सहयोग गर्ने भन्नेमा केन्द्रित थियो।

“सरकार देश बनाउने गरी लागिरहेको छ, जसका लागि पुँजीगत खर्च हुनु आवश्यक छ। बैंकसँग अत्यधिक लिक्विडिटी छ तर कर्जाको प्रभाव भनेअनुसार हुन सकेको छैन। बैंकको समन्वय बिना अगाडि बढियो भने समृद्धिको बाटोमा अघि बढ्न सकिँदैन,” उनले भने।

राज्यसँग भएको स्रोत–साधनलाई प्रभावकारी रूपमा परिचालन गर्ने, उद्योग–व्यवसायीलाई प्रोत्साहन गर्दै बैंकमा रहेको लगानीयोग्य रकम उत्पादनशील क्षेत्रमा प्रवाह गर्ने उपायबारे विस्तृत छलफल भएको उनले बताए। “राज्यको लागि हामीसँग भएको स्रोत–साधनको परिचालन कसरी गर्ने, उद्योग–व्यवसायीहरूलाई प्रोत्साहन गरेर भएको स्रोतलाई परिचालन गर्ने भन्ने विषयमा छलफल भयो। बैंकले के–कस्तो सहजीकरण गरिदियो भने उद्योग–व्यवसायमा सहजता आउँछ र उत्पादनशील क्षेत्रमा कसरी जान सकिन्छ भन्ने विषयमा पनि विस्तृत छलफल भएको हो,” ज्ञवालीले भने।

उनका अनुसार अर्थमन्त्री वाग्लेले बैंकिङ क्षेत्रलाई सरकार पूर्ण रूपमा साथ दिन तयार रहेको स्पष्ट सन्देश दिएका छन्। नीतिगत, कानुनी वा कार्यान्वयनका क्रममा कुनै अवरोध आए सरकार त्यसको समाधान गर्न तयार रहेको प्रतिबद्धता पनि अर्थमन्त्रीले व्यक्त गरेका छन्।

“तपाईँहरूलाई कुनै समस्या पर्यो भने आउनुहोस्, हामी साथ दिन्छौँ। अप्ठ्यारो अवस्था आयो, काम गर्ने क्रममा बाधा–अवरोध आयो भने नीतिगत परिवर्तन गर्नुपर्छ कि, कानुन संशोधन गर्नुपर्छ कि, जे आवश्यक हुन्छ त्यो गर्छौँ। देशको समृद्धिका लागि हामी सबै मिलेर दौडिनुपर्छ। केही समस्या पर्यो भने सरकार साथमा छ,” भन्दै अर्थमन्त्रीले आश्वस्त पारेको ज्ञवालीले सुनाए।

ज्ञवालीले बैंकिङ क्षेत्रले पनि सरकारको अभियानमा पूर्ण साथ दिने प्रतिबद्धता जनाएको बताए। “हामी ८२ खर्ब रुपैयाँभन्दा बढी निक्षेप लिएर बसेका छौँ। अर्थमन्त्रीको टिम निकै सिरियस देखियो। सरकारले समृद्धिका लागि निजी क्षेत्र र बैंकिङ क्षेत्रलाई साथमा लिएर अघि बढ्न चाहेको छ। हामी पनि त्यसमा पूर्ण रूपमा साथ दिन्छौँ,” उनले भने।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*