ग्लोबल आइएमई बैंकको नाफा साढे २२ प्रतिशत बढ्यो, अधिकांश सूचकमा उल्लेख्य ग्रोथ

२० श्रावण २०८३, बुधबार ०७:०८

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको अन्तिम त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त वित्तीय विवरण अनुसार अघिल्लो आवको तुलनामा गत आवमा नाफा, ईपीएस सहितका अधिकांश वित्तीय सूचकमा उल्लेख्य ग्रोथ भएको देखिएको हो ।

अघिल्लो आवको तुलनामा गत आवमा बैंकको खुद नाफा ५ अर्ब ७ करोड ६३ लाख रुपैयाँबाट २२.६७ प्रतिशतले बढेर ६ अर्ब २२ करोड ७१ लाख रुपैयाँ नाघेको छ । यद्यपि बैंकको खुद ब्याज आम्दानी भने १६ अर्ब ६७ करोड ९९ लाख रुपैयाँबाट २.८६ प्रतिशतले घटेर १६ अर्ब २० करोड ३० लाख रुपैयाँमा झरेको छ ।

यता बैंकको खुद फी तथा कमिशन आम्दानी ३ अर्ब २२ करोड १७ लाख रुपैयाँबाट बढेर ३ अर्ब ६४ करोड ५ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी २१ अर्ब २४ करोड ९१ लाख रुपैयाँबाट २.६१ प्रतिशतले बढेर २१ अर्ब ८० करोड ३९ लाख रुपैयाँ नाघेको छ ।

त्यसैगरी बैंकको सञ्चालन मुनाफा ७ अर्ब २३ करोड ३१ लाख रुपैयाँबाट २० प्रतिशतले बढेर ८ अर्ब ६८ करोड २१ लाख रुपैयाँ पुगेको छ भने वितरणयोग्य मुनाफा ४ अर्ब ५ करोड २८ लाख रुपैयाँबाट बढेर ४ अर्ब ५८ करोड १० लाख रुपैयाँ पुगेको छ ।

बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) १३.३२ रुपैयाँबाट १६.३४ रुपैयाँ पुगेको छ भने खराब कर्जा (एनपीएल) ४.८६ प्रतिशतबाट सामान्य बढेर ४.९६ प्रतिशत पुगेको छ । बैंकको आधार दर ५.७६ प्रतिशतबाट घटेर ४.७५ प्रतिशतमा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १८३.१४ रुपैयाँ कायम भएको छ ।

चुक्ता पूँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ रहेको यस बैंकको रिजर्भ कोषमा २७ अर्ब १० करोड ९३ लाख रुपैयाँ सञ्चिति रहेको छ । बैंकले आफ्नो लगानी बढाउने क्रममा कर्जा प्रवाह ४ खर्ब १० अर्ब ११ करोड रुपैयाँबाट ४ खर्ब ३९ अर्ब ३४ करोड रुपैयाँ पुर्याएको छ भने निक्षेप संकलन पनि ५ खर्ब ५० अर्ब ६२ करोड रुपैयाँबाट बढेर ६ खर्ब ६९ अर्ब १७ करोड रुपैयाँ नाघेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*