एभरेष्ट बैंकले कमायो झण्डै ५ अर्ब ७ करोड नाफा, वितरणयोग्य मुनाफा १३ प्रतिशतले वृद्धि

२० श्रावण २०८३, बुधबार ०७:४३

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष (आव) को चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । जसअनुसार बैंकको नाफा, प्रतिशेयर आम्दानी सहित वितरणयोग्य मुनाफामा समेत वृद्धि भएको देखिएको हो ।

अघिल्लो आवको तुलनामा गत आवमा बैंकको खुद नाफा करिब ४ अर्ब ८४ करोड रुपैयाँबाट ४.७५ प्रतिशतले बढेर झण्डै ५ अर्ब ७ करोड रुपैयाँ पुगेको हो । यता सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी ९ अर्ब १० करोड २३ लाख रुपैयाँबाट सामान्य बढेर ९ अर्ब १९ करोड ४ लाख रुपैयाँ नाघेको छ ।

बैंकको खुद फी तथा कमिशन आम्दानी १ अर्ब ५३ करोड ५ लाख रुपैयाँबाट बढेर १ अर्ब ९४ करोड ७२ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ११ अर्ब १७ करोड ६ लाख रुपैयाँबाट ६.२१ प्रतिशतले बढेर ११ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ पुगेको छ ।

यता बैंकको सञ्चालन मुनाफा ७ अर्ब ३८ करोड ४४ लाख रुपैयाँ रहेको छ अघिल्लो आवमा पनि बैंकको सञ्चालन मुनाफा यही नै रहको थियो । यद्यपि बैंकको वितरणयोग्य मुनाफा भने समीक्षा अवधिमा ४ अर्ब ५ करोड ४८ लाख रुपैयाँबाट १२.९८ प्रतिशतले बढेर ४ अर्ब ५८ करोड १० लाख रुपैयाँ नाघेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) ३७.३९ रुपैयाँबाट सामान्य घटेर ३६.९५ रुपैयाँमा झरेको छ भने खराब कर्जा (एनपीएल) ०.३८ प्रतिशतबाट सामान्य बढेर ०.४९ प्रतिशत कायम भएको छ। बैंकको आधार दर ५.३६ प्रतिशतबाट घटेर ४.२५ प्रतिशत कायम भएको छ भने प्रतिशेयर नेटवर्थ २५६.४७ रुपैयाँ कायम भएको छ ।

चुक्ता पूँजी १२ अर्ब ९४ करोड ४४ लाख रुपैयाँबाट १३ अर्ब ७२ करोड १३ लाख रुपैयाँ पुगेको यस बैंकको रिजर्भ कोषमा १५ अर्ब ७२ करोड ७८ लाख रुपैयाँ सञ्चिति रहेको छ । कर्जा लगानी २ खर्ब १३ अर्ब ४३ करोड रुपैयाँबाट २ खर्ब ३५ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ भने निक्षेप संकलन २ खर्ब ९८ अर्ब ८१ करोड रुपैयाँबाट ३ खर्ब १६ अर्ब १ करोड रुपैयाँ नाघेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*