राष्ट्र बैंकका कार्यकारी निर्देशकलाई अर्थमन्त्रीका दर्जनौँ प्रश्न, ‘नीति बन्यो, परिणाम किन आएन?’

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकहरुसँग दर्जनौँ प्रश्न गरेका छन् । बुधबार कार्यकारी निर्देशकहरुसँग छलफल गर्दै उनले राष्ट्र बैंकको भुमिका विषयमा प्रश्न गरेका हुन् ।
बैठकलाई सम्बोधन गर्दै उनले पछिल्ला केही दिनयता उद्योगी–व्यवसायी तथा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग लामो समय छलफल गर्ने अवसर पाएको उल्लेख गर्दै ती दुवै बैठकबाट निजी क्षेत्र अहिले नवीन अवसरसँगै बढी आत्मविश्वास खोजिरहेको निष्कर्ष स्पष्ट रूपमा आएको बताए। “उहाँहरूलाई केवल सहुलियत होइन, स्पष्ट नीति, स्थिर नियम, छिटो निर्णय र विश्वसनीय कार्यान्वयन चाहिएको छ,” उनले भने।
उनले पछिल्लो एक दशकको आर्थिक यात्रा समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याउँदै, “के हामीले नीतिगत रूपमा सही निर्णयहरू गर्न सकेनौँ? धेरै ठाउँमा सकेका थियौँ। तर ती निर्णयहरू कार्यान्वयनसम्म पुग्दा किन अपेक्षित परिणाम दिन सकेनन्? किन निजी क्षेत्र क्रमशः प्रतिरक्षात्मक बन्दै गयो? किन लगानीको आत्मविश्वास कमजोर भयो? किन बैंकमा तरलता बढ्दै गयो तर उद्योगमा कर्जा पुग्न सकेन? किन पूँजी बजार र वास्तविक अर्थतन्त्रबीचको सम्बन्ध कमजोर बन्दै गयो? किन उत्पादन र उत्पादकत्वले अपेक्षित गति लिन सकेन?” भन्ने प्रश्न उठाए।
यी प्रश्नहरू केवल समीक्षा गर्ने विषय नभई आगामी दशकको आर्थिक नीति निर्धारण गर्ने आधार भएको उनको भनाइ थियो। “यिनै प्रश्नहरूको उत्तरले आगामी दशकको आर्थिक नीति निर्धारण गर्नेछ,” उनले भने।
अर्थमन्त्री वाग्लेले चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले स्पष्ट दिशा तय गरेको उल्लेख गर्दै, “यो सामान्य वार्षिक बजेट होइन, यो आर्थिक सुधार र संरचनागत रूपान्तरणको रोडम्याप हो,” भने।
उनले त्यसपछि नेपाल राष्ट्र बैंकको भूमिकामाथि प्रश्न उठाउँदै, “अब प्रश्न अर्को छ– नेपाल राष्ट्र बैंक यस यात्रामा आफ्नो भूमिका कसरी पुनर्परिभाषित गर्छ?” भन्दै यही विषयमा खुला र गम्भीर छलफल आवश्यक रहेको बताए।
“हामी सबैले आफ्नै संस्थालाई एउटा प्रश्न सोध्नुपर्छ के हामी पर्याप्त आत्मविश्वासका साथ काम गरिरहेका छौँ? के हाम्रो नीतिगत स्पष्टता पर्याप्त छ? के हाम्रो निर्णय प्रक्रियामा पर्याप्त तत्परता छ? के हामी समस्या समाधान गर्ने नियामक हौँ, कि समस्या व्यवस्थापन गर्ने नियामक मात्र? हामीले अहिलेको आर्थिक परिस्थितिलाई केवल जोखिम व्यवस्थापनको दृष्टिले हेर्ने कि अवसर सिर्जनाको दृष्टिले पनि हेर्ने? यही सोचमा अब परिवर्तन आवश्यक छ,” उनले भने।
अर्थमन्त्री वाग्लेले सरकारद्वारा घोषणा गरिएका आर्थिक सुधारलाई सफल बनाउन नेपाल राष्ट्र बैंकले अब कुन–कुन नीतिगत पहल गर्नुपर्ने, उत्पादनमुखी क्षेत्रमा कर्जा प्रवाह कसरी बढाउन सकिने, बैंकिङ प्रणालीमा रहेको अधिक तरलतालाई उत्पादन, उद्योग र रोजगारीमा कसरी रूपान्तरण गर्न सकिने, पूँजी बजार, रियल इस्टेट, बैंकिङ प्रणाली र वास्तविक अर्थतन्त्रबीच स्वस्थ सम्बन्ध कसरी निर्माण गर्ने, मौद्रिक नीति र वित्तीय नीतिबीचको समन्वयलाई अझ प्रभावकारी कसरी बनाउने तथा डिजिटल वित्त, फिनटेक, वैकल्पिक वित्त, स्टार्टअप वित्तपोषण र नयाँ वित्तीय उपकरणलाई कसरी सहज बनाउने भन्ने विषयमा कार्यकारी निर्देशकहरूको धारणा सुन्न चाहेको बताए।

उनले अब नियमनको उद्देश्य केवल नियन्त्रणमा सीमित नरहनुपर्ने धारणा राख्दै, “अब नियमनको उद्देश्य केवल नियन्त्रण होइन, उत्पादनशील आर्थिक गतिविधिलाई सक्षम बनाउनु पनि हो। हाम्रो नियमनले नवप्रवर्तनलाई रोकिरहेको छ कि प्रोत्साहन गरिरहेको छ? यो प्रश्न पनि हामीले आफैँसँग सोध्नुपर्छ,” भने।
अर्थमन्त्री वाग्लेले छलफलका क्रममा नकारात्मक सोच त्यागेर समाधानमुखी दृष्टिकोण अपनाउन आग्रह गरे। “हामी ‘यो सम्भव छैन’ भन्ने सोचबाट होइन, ‘यसलाई सम्भव बनाउन के गर्नुपर्छ?’ भन्ने सोचबाट छलफल गरौँ। किनभने अहिले नेपाललाई सबैभन्दा बढी आवश्यक परेको कुरा नीतिगत आत्मविश्वास (Policy Confidence) हो,” उनले भने।
उनले सरकार नेपाल राष्ट्र बैंक, बैंकिङ प्रणाली र निजी क्षेत्र सबै आत्मविश्वासी भए आर्थिक वृद्धिको लक्ष्य धेरै टाढा नरहने विश्वास व्यक्त गरे। “यदि सरकार आत्मविश्वासी छ, नेपाल राष्ट्र बैंक आत्मविश्वासी छ, बैंकिङ प्रणाली आत्मविश्वासी छ र निजी क्षेत्र आत्मविश्वासी छ भने आर्थिक वृद्धि धेरै टाढाको लक्ष्य हुँदैन,” उनले भने।
सरकारले आफ्नो जिम्मेवारी स्पष्ट रूपमा लिइसकेको उल्लेख गर्दै उनले सुधारको प्रक्रिया सुरु भइसकेको, आवश्यक कानुनी संशोधन, संस्थागत सुधार र कार्यान्वयनलाई तीव्रता दिइरहेको जानकारी दिए। “अब मौद्रिक पक्षबाट पनि त्यही गति, त्यही स्पष्टता र त्यही प्रतिबद्धता आवश्यक छ,” उनले भने।
अर्थमन्त्री वाग्लेले नेपाल राष्ट्र बैंकलाई केवल नियामक संस्थाका रूपमा नभई नेपालको आर्थिक रूपान्तरणको सहयात्री र सह–निर्माताका रूपमा हेर्न चाहेको बताए।
उनले आजको छलफल औपचारिक टिप्पणीमा सीमित नरहने स्पष्ट पार्दै, “यहाँ उठेका प्रत्येक विषयलाई कार्ययोजनामा रूपान्तरण गरिनेछ। आवश्यक परे संयुक्त कार्यदल बनाउनेछौँ, नीतिगत समन्वयलाई संस्थागत गर्नेछौँ र निर्णय प्रक्रियालाई अझ छरितो बनाउनेछौँ,” भने।
सम्बोधनको अन्त्यमा उनले अहिले नेपालसँग दुर्लभ अवसर रहेको उल्लेख गर्दै, “सुधारको राजनीतिक इच्छाशक्ति छ। आर्थिक स्थायित्वको आधार बनेको छ। निजी क्षेत्र अवसरका लागि तयार छ। अब राज्यका संस्थाहरूले पनि एउटै आत्मविश्वास, एउटै स्पष्टता र एउटै गतिका साथ अघि बढ्नुपर्छ,” भने।
उनले सरकार, नेपाल राष्ट्र बैंक, बैंकिङ क्षेत्र र निजी क्षेत्र एउटै दिशामा अघि बढ्न सके नेपालको आर्थिक रूपान्तरण अब कल्पनामा सीमित नरहने विश्वास व्यक्त गरे। “यदि सरकार, नेपाल राष्ट्र बैंक, बैंकिङ क्षेत्र र निजी क्षेत्र एउटै दिशामा अघि बढे भने नेपालको आर्थिक रूपान्तरण अब केवल कल्पना रहने छैन; त्यो कार्यान्वयनको चरणमा प्रवेश गर्नेछ,” उनले भने।











