कृषि विकास बैंकको नाफा साढे २९ प्रतिशत घट्यो, अन्य सूचकको अवस्था कस्तो ?

२१ श्रावण २०८३, बिहीबार ०६:३२

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले गत आवमा २ अर्ब ६३ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आवमा कमाएको ३ अर्ब ७३ करोड २४ लाख रुपैयाँको तुलनामा २९.५२ प्रतिशत कम हो ।

अघिल्लो आवको तुलनामा गत आवमा बैंकको आम्दानीमा पनि गिरावट देखिएको छ । बैंकको खुद ब्याज आम्दानी ९ अर्ब ४४ करोड ७४ लाख रुपैयाँबाट ३.४५ प्रतिशतले घटेर ९ अर्ब १२ करोड १५ लाख रुपैयाँमा सीमित भएको छ ।

यता बैंकको खुद फि तथा कमिसन आम्दानी १ अर्ब ५६ करोड ५२ लाख रुपैयाँबाट बढेर १ अर्ब ७१ करोड ६० लाख रुपैयाँ पुगेको भए तापनि कुल सञ्चालन आम्दानी ११ अर्ब ७० करोड ३० लाख रुपैयाँबाट ४.१५ प्रतिशतले घटेर ११ अर्ब २१ करोड ७९ लाख रुपैयाँमा झरेको छ ।

आम्दानी घटेपछि बैंकको सञ्चालन मुनाफा पनि ५ अर्ब २१ करोड ८ लाख रुपैयाँबाट २४.३२ प्रतिशतले घटेर ३ अर्ब ९४ करोड ३६ लाख रुपैयाँमा झरेको छ । योसँगै बैंकको वितरणयोग्य मुनाफा पनि २ अर्ब ८१ करोड ६६ लाख रुपैयाँबाट ५५.१९ प्रतिशतले घटेर १ अर्ब २६ करोड २२ लाख रुपैयाँमा झरेको छ ।

यता बैंकको प्रतिशेयर आम्दानी २४.५९ रुपैयाँबाट १६.११ रुपैयाँमा झरेको छ भने खराब कर्जा ३.४४ प्रतिशतबाट ४.०७ प्रतिशतमा पुगेको छ । आधारदर ५.८७ प्रतिशतबाट ४.५६ प्रतिशतमा झरेको यस बैंकको प्रतिशेयर नेटवर्थ २३१.७१ रुपैयाँ रहेको छ ।

बैंकको चुक्ता पूँजी १९ अर्ब २८ करोड ७९ लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा १७ अर्ब ९० करोड ५९ लाख रुपैयाँ सञ्चिति रहेको छ । बैंकको कर्जा लगानी २ खर्ब १२ अर्ब १६ करोडबाट २ खर्ब ४७ अर्ब १६ करोड रुपैयाँ पुगेको छ भने निक्षेप संकलन २ खर्ब ९३ अर्ब ३५ करोडबाट ३ खर्ब ४७ अर्ब २१ करोड रुपैयाँ पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*