जानकी फाइनान्स २० करोडको घाटा सहेर ९३ लाख नाफा कमाउन सफल, खराब कर्जा झनै उच्च विन्दुमा

२२ श्रावण २०८३, शुक्रबार १३:१०

काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार फाइनान्सले आफ्नो वित्तीय अवस्थामा उल्लेख्य सुधार गर्दै अघिल्लो वर्षको तुलनामा लोभलाग्दो पुनरागमन गरेको देखिएको छ ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा २० करोड ७२ लाख ८४ हजार रुपैयाँ भारी खुद नोक्सानी बेहोरेको यस फाइनान्सले गत आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्ममा ९३ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो वर्षको ठूलो घाटालाई पूर्ति गर्दै कम्पनी नाफामा जान सफल भएको हो ।

कम्पनीको मुख्य आम्दानीको स्रोत मानिने खुद ब्याज आम्दानीमा पनि वृद्धि भएको छ । अघिल्लो वर्ष १६ करोड ६७ लाख ४ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी गत वर्ष बढेर १७ करोड १५ लाख १२ हजार रुपैयाँ पुगेको छ ।

नाफामा सुधार देखिए पनि फाइनान्सको निक्षेप र कर्जा परिचालनमा भने संकुचन आएको छ । अघिल्लो वर्ष ३ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन गरेको फाइनान्समा गत वर्षको अन्त्यसम्म निक्षेप घटेर २ अर्ब २६ करोड रुपैयाँमा खुम्चिएको छ । त्यसैगरी कर्जा प्रवाह पनि २ अर्ब ६५ करोडबाट घटेर २ अर्ब ११ करोड रुपैयाँ कायम भएको छ ।

नाफा कमाए पनि कम्पनीका केही सूचकहरू अझै पनि चुनौतीपूर्ण अवस्थामै रहेका छन् । मुख्य गरी कम्पनीको खराब कर्जा जुन अघिल्लो वर्ष ४८.६१ प्रतिशत रहेकोमा गत वर्ष बढेर ६१.५५ प्रतिशत पुगेको छ ।

त्यसैगरी नियामक निकाय नेपाल राष्ट्र बैंकको प्रावधान अनुसार कायम हुनुपर्ने पुँजी कोष पनि ६.१४ प्रतिशतले ऋणात्मक रहेको छ । अघिल्लो वर्ष यो १.९१ प्रतिशतले मात्र ऋणात्मक थियो । यता कम्पनीको प्रतिशेयर आम्दानी १.३५ रुपैयाँ रहेको छ जुन अघिल्लो वर्ष ३०.०२ रुपैयाँले ऋणात्मक थियो । हाल प्रतिशेयर नेटवर्थ ०.८९ रुपैयाँ ऋणात्मक र तरलता अनुपात ३७.९४ प्रतिशत रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*