एमालेमा ‘घात’ भएको भन्दै पूर्वजिल्ला उपाध्यक्ष मल्ल रास्वपा प्रवेश, शिखरको मेयरको दाबेदार

दिपक विष्ट
२६ श्रावण २०८३, मंगलवार १८:३९

काठमाडौँ । नेकपा एमाले डोटी जिल्ला कमिटीका पूर्वउपाध्यक्ष शेरबहादुर मल्लले लामो समयदेखि गर्दै आएको एमालेको सक्रिय राजनीति त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन्। मल्लले सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै एमाले छाडेर रास्वपा प्रवेश गरेको औपचारिक रूपमा सार्वजनिक गरेका हुन्।

डोटीको राजनीतिमा लामो समयदेखि सक्रिय मल्ल एमालेभित्र जिल्ला सचिव, जिल्ला उपाध्यक्ष, दुई पटक जिल्ला कमिटी सदस्य तथा एमालेनिकट युवा संगठन युवा संघ नेपालका केन्द्रीय सदस्यका रूपमा दुई पटक जिम्मेवारी सम्हालिसकेका व्यक्ति हुन्। पार्टी संगठनमा लामो समय काम गरेका उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा डोटीको शिखर नगरपालिकाको मेयर पदका उम्मेदवारसमेत बनेका थिए। उक्त निर्वाचनमा उनी नेपाली कांग्रेसका उम्मेदवारसँग ९१७ मतको झिनो अन्तरले पराजित भएका थिए। २०८१ को नवौं जिल्ला अधिवेशनमा समेत मल्लले वर्तमान अध्यक्षमा मन्जु मलासीसँग प्रतिस्पर्धा गरेका थिए ।

एमालेमा निरन्तर सक्रिय रहँदै आएका मल्लले पछिल्लो समय भने राजनीतिक बाटो परिवर्तन गर्दै रास्वपाबाट आगामी स्थानीय तह निर्वाचनमा शिखर नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिने तयारी थालेका छन्। मल्लले केही समयअघिदेखि नै एमालेभित्र रहेका आफ्ना निकटस्थ तथा समर्थक केही व्यक्तिहरूलाई आफु रास्वपामा प्रवेश गरेर नगर प्रमुखको दाबेदारी भएको भन्दै सहयोग गर्नभन्दै फोन संवाद गर्दै आएका थिए । उनी रास्वपाबाट शिखर नगरपालिकाको नगर प्रमुखको उम्मेदवार बन्ने तयारीमा रहेको र पार्टीभित्र समेत त्यसबारे सहमति जुटिसकेको बताइएको छ।

मल्लले रास्वपा प्रवेशको घोषणा गर्दै फेसबुकमा लेखेका छन्, ‘आजबाट राजनैतिक रूपमा हिजोको पार्टी त्यागी नयाँ पार्टी रास्वपा प्रवेशको स्वघोषणा गरेको छु। हिजो साथ सहयोग गर्ने सबैप्रति सम्मान साथै फेरि पनि निरन्तर सामाजिक काममा जोडिइरहने छु। कसैप्रति दुराशय नरहेको जानकारी गराउँदछु। मसँग साथ दिन लागेका सबै साथीहरूलाई धन्यवाद व्यक्त गर्दछु। केही प्राप्तिका लागि नलागेको र समयको मागअनुसार परिवर्तन भएको जानकारी पनि गराउँदछु। फेरि पनि इमान्दारिताका साथ जोडिएको ठाउँमा काम गर्ने जानकारीसमेत व्यक्त गर्दछु।’

मल्लले आफू २०८४ सालमा हुने स्थानीय तह निर्वाचनमा शिखर नगरपालिकाको प्रमुख पदको दाबेदार रहेको स्पष्ट पारेका छन्। बीमापोष्ट डटकमसँग कुरा गर्दै उनले भने, ‘राजनीति गरे पछि नेतृत्व गर्ने आकांक्षा हुनु स्वाभाविक हो। अबको चुनावमा समेत पार्टीबाट मेरो दाबेदार प्रमुखका लागि हुने नै छ।’

उनले एमाले छाड्नुको मुख्य कारण पार्टीभित्र पटक–पटक आफूविरुद्ध अन्तरघात भएको र जिम्मेवारीबाट हटाउने काम भएको दाबी गरेका छन्। लामो समय पार्टीमा सक्रिय रहे पनि आफूलाई पटक–पटक जिम्मेवारीविहीन बनाइएको भन्दै मल्लले त्यसबाट खिन्नता उत्पन्न भएको बताए।

मल्लले एमाले छाड्ने निर्णय तत्कालको नभई लामो समयदेखिको असन्तुष्टि र पार्टीभित्र आफूले भोग्दै आएको राजनीतिक अवस्थाको परिणाम भएको बताए।  ‘एमालेभित्र ममाथि धेरै घात भयो। पटक–पटक मलाई जिम्मेवारीबाट हटाउने काम भयो। आठ पटक पार्टीभित्र चुनाव लडिसकेको छु। तर, प्रत्येक पटक घात भयो। जिम्मेवारीबाट खोसियो। संगठित सदस्य भएको मान्छे जिम्मेवारीविहीन अवस्थामा पुगेँ। हारेपछि पनि कुनै जिम्मेवारी नदिने जस्ता गतिविधि भए। यिनै कुराले खिन्नता ल्याएको थिएँ। यो चुनावअघि नै छोड्ने भन्नेमा थिएँ, अहिले आएर त्यागेको छु,’ उनले भने।

यसअघिका निर्वाचनमा प्रदेश सभा सदस्य चक्र मल्ललाई आफूले असहयोग गरेको भन्ने आरोपको भने शेर मल्लले खण्डन गरेका छन्। आफूले पार्टीका उम्मेदवारलाई जिताउन निरन्तर काम गरेको दाबी गर्दै उनले आफूमाथि लागेको आरोप पुष्टि भए राजनीति नै त्याग्न तयार रहेको बताए।

‘कसैले पनि चुनावमा असहयोग गरेको प्रमाण ल्याए भने म सबै कुरा छोडिदिन्छु। मैले ठूलो सहयोग गरेको छु। जसले मलाई घात गरेर २०७४ को स्थानीय चुनाव हराए, मैले उनीहरूलाई जिताउन ठूलो सहयोग गरेको थिएँ। चक्र मल्ल, गौरी ओलिलाई चुनाव जिताउन धेरै खटिएको व्यक्ति हुँ। घात गर्‍यो भन्ने छँदै छैन,’ उनले भने।

आफू एमालेबाट केही प्राप्त गर्ने उद्देश्यले राजनीतिमा नलागेको र पार्टी छाड्दा पनि गुमाउनुपर्ने केही नरहेको मल्लको भनाइ छ। राजनीतिलाई सामाजिक सेवा र काम गर्ने माध्यमका रूपमा लिएको बताउँदै उनले अवसर जहाँ प्राप्त हुन्छ, त्यहीँबाट समाजका लागि काम गर्ने बताए।

‘हामी राजनीतिक व्यक्ति हो। काम गर्न आएका हो। जहाँ काम गर्ने अवसर नै मिल्दैन भने त्यहाँ बस्ने कुरा हुँदैन,’ मल्लले भने, ‘मैले एमालेबाट केही प्राप्त गरेको थिएँ र गुमाउनुपर्ने पनि केही छैन। काम गर्ने ठाउँ जहाँ पाए त्यहीँ समाजसेवा गर्ने हो।’

एमाले डोटीका पूर्वअध्यक्ष तथा प्रदेश सभा सदस्य चक्र मल्लसँग आफ्नो व्यक्तिगत कुनै विमति नरहेको पनि शेर मल्लले स्पष्ट पारेका छन्। आफ्नो असहमति व्यक्तिगत नभई पार्टीभित्रको विधि, विधान र आर्थिक व्यवस्थापनसँग सम्बन्धित रहेको उनको भनाइ छ।

‘उहाँसँग मेरो केही विमति छैन। पार्टीगत रूपमा म सचिव हुँदा उहाँ अध्यक्ष हुँदा केही विधि–विधानका गतिविधिमा कुरा नमिल्ने हुन्थ्यो। आर्थिक व्यवस्थापनका पाटो कसेर राखेको थिएँ। उहाँहरूले सहिल्यै निकासा गर्ने पाउनु भएन। सोही कारण मतभेद थियो,’ उनले भने।

मल्लको पार्टी परिवर्तनसँगै शिखर नगरपालिकाको आगामी निर्वाचनमा रास्वपाको राजनीतिक उपस्थिति र सम्भावित उम्मेदवारीबारे समेत चर्चा सुरु भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*