डिप्रोक्स लघुवित्तको नाफामा ७२ प्रतिशत उछाल, अधिकांश सूचकमा उत्साहजनक वृद्धि

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको अन्तिम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको वित्तीय अवस्था अत्यन्त सुदृढ र मजबूत देखिएको हो।
समीक्षा अवधिमा कम्पनीको खुद नाफा ५७ करोड ३९ लाख रुपैयाँबाट ७२.४० प्रतिशतले बढेर ९८ करोड ९४ लाख रुपैयाँ पुगेको छ। आम्दानीमा आएको वृद्धि र खराब कर्जा घट्नुले कम्पनीको नाफा बढाउन ठूलो मद्दत पुगेको हो।
लघुवित्तको आम्दानीको मुख्य स्रोत खुद ब्याज आम्दानी समीक्षा अवधिमा १ अर्ब ८९ करोड ३० लाख रुपैयाँबाट उत्साहजनक वृद्धि भई २ अर्ब १८ करोड ५६ लाख रुपैयाँ पुगेको छ भने खुद फी तथा कमिशन आम्दानी १८ करोड ८९ लाख रुपैयाँबाट २० करोड ८९ लाख रुपैयाँ पुगेको छ।
योसँगै कम्पनीको कुल सञ्चालन आम्दानी २ अर्ब ८ करोड २७ लाख रुपैयाँबाट बढेर २ अर्ब ४० करोड ७३ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ९१ करोड ३८ लाख रुपैयाँबाट ह्वात्तै बढेर १ अर्ब ४३ करोड ८४ लाख रुपैयाँ पुगेको छ।
कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि ३०.८८ रुपैयाँबाट ४८.१५ रुपैयाँ कायम भएको छ भने खराब कर्जा (एनपीएल) पनि सुधारिएर ११.३० प्रतिशतबाट ६.४९ प्रतिशतमा झरेको छ। प्रतिशेयर नेटवर्थ २०३.०८ रुपैयाँबाट २२६.८७ रुपैयाँ पुगेको छ भने वितरणयोग्य मुनाफा ५९ करोड ९८ लाख रुपैयाँबाट १ अर्ब ८ करोड ५७ लाख रुपैयाँ पुगेको छ।
चुक्ता पूँजी १ अर्ब ८६ करोड ८२ लाखबाट २ अर्ब ५ करोड ५१ लाख रुपैयाँ पुगेको कम्पनीको रिजर्भ कोष १ अर्ब ३२ करोडबाट १ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ। कर्जा लगानी २५ अर्ब १७ करोडबाट बढेर २७ अर्ब २८ करोड पुग्दा निक्षेप संकलन ११ अर्ब १ करोडबाट बढेर १२ अर्ब ९७ करोड रुपैयाँ नाघेको छ। कम्पनीको सम्पत्तिको कुल मूल्य पनि २६ अर्ब ९७ करोडबाट २९ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ।











