राष्ट्रिय बीमा कम्पनीको नाफामा १९ प्रतिशतको गिरावट, अन्य वित्तीय सूचकको अवस्था कस्तो?

२८ श्रावण २०८३, बिहीबार ०७:३२

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफामा अघिल्लो वर्षको तुलनामा घटेको हो।

समीक्षा अवधिमा कम्पनीले ३४ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको ४२ करोड ७६ लाख रुपैयाँको तुलनामा १९.४६ प्रतिशतले कम हो। नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) मा पनि गिरावट आएको छ। अघिल्लो वर्ष १६० रुपैयाँ ३८ पैसा रहेको प्रतिशेयर आम्दानी यस वर्ष घटेर १२९ रुपैयाँ १८ पैसामा खुम्चिएको छ।

कम्पनीको लगानीबाट हुने आम्दानी र खुद बीमा शुल्कमा आएको गिरावटले समग्र नाफामा असर पारेको देखिन्छ। अघिल्लो वर्ष ५९ करोड १८ लाख रुपैयाँ रहेको लगानी तथा अन्य क्षेत्रको आम्दानी यस वर्ष २२ प्रतिशतले घटेर ४६ करोड १२ लाख रुपैयाँमा सीमित भएको छ।

त्यस्तै कम्पनीको कुल आम्दानी पनि १ अर्ब ४ करोड ५५ लाख रुपैयाँबाट घटेर ९१ करोड २० लाख रुपैयाँमा झरेको छ। आम्दानी घट्दा पनि कम्पनीको कुल खर्च भने अघिल्लो वर्षको तुलनामा ६.१६ प्रतिशतले बढेर ५० करोड ३७ लाख रुपैयाँ पुगेको छ। कम्पनीको खुद बीमाशुल्क आर्जन पनि ६.४१ प्रतिशतले घटेर २३ करोड १६ लाख रुपैयाँमा खुम्चिएको छ।

कम्पनीको बीमा कोष १४.४४ प्रतिशतले बढेर ३ अर्ब ३४ करोड ६४ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी महाविपत्ति कोष २.४९ प्रतिशतले बढेर ७० करोड ९४ लाख र जगेडा कोष ४.८६ प्रतिशतले वृद्धि भई २ अर्ब ५९ करोड ५५ लाख रुपैयाँ पुगेको छ। दाबी भुक्तानीको भार पनि अघिल्लो वर्षको तुलनामा ७.७५ प्रतिशतले घटेर ३० करोड १० लाख रुपैयाँमा झरेको छ।

कम्पनीले जारी गर्ने बीमा पोलिसीको संख्यामा भने ठूलो गिरावट आएको छ। अघिल्लो वर्ष १ लाख ५९ हजार ६७१ वटा पोलिसी जारी गरेको कम्पनीले यस वर्ष जम्मा ३२ हजार ३४३ वटा मात्र पोलिसी जारी गरेको छ। अभिकर्तालाई दिइने कमिसन खर्चमा पनि ६३.९५ प्रतिशतको उल्लेख्य गिरावट आएको छ। हाल कम्पनीको चुक्ता पूँजी २६ करोड ६६ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ ६ हजार ४०७ रुपैयाँ ५ पैसा कायम भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*