ज्ञानेन्द्र शाहको पतनपछि पहिलो पटक सञ्चारगृहमा छिर्यो प्रहरी, जनआस्थाका कम्प्युटर कब्जा

काठमाडौं । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी अन्तर्राष्ट्रिय कानुन र नेपालको संविधान २०७२ को गम्भिर उल्लंघन हुने गरी आज विहानै जनआस्था साप्ताहिकको कार्यालयमा नेपाल प्रहरीले छापा मारेको छ । हिजो राति जनआस्थाका पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरेको प्रहरीले आज विहानै ललितपुरमा रहेको जनआस्थाको कार्यालयमा छापा मारेर केही थान कम्प्युटर लगायतका सामग्रीहरु नियन्त्रणमा लिएको छ ।
हिजै मध्यरातमा किशोर श्रेष्ठको घरमा पुगेर प्रहरीले छापा मारेको थियो । आज विहानै कार्यालयमा प्रहरी पुगेर छापा मारेको हो । सञ्चार माध्यमको कार्यालयमा छापा मारेको घटना पञ्चायत र ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनपछि पहिलो पटक हो । लोकतन्त्रमा सञ्चारगृहमा प्रहरी छिर्न पाउने नियम छैन । तर, लोकतन्त्र र कानुनी राज्य नभएका विश्वका कैयौं मुलुकहरुमा यसरी नै प्रहरी छिरेर सञ्चार माध्यमका उपकरण नियन्त्रणमा लिने, पत्रकारलाई पक्राउ गर्ने, मुद्दा लगाउने कार्यहरु हुने गर्दछन् । पछिल्लो उदाहरण नेपाल बन्न पुगेको छ ।
पछिल्लो घटनाले ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकाल तथा पञ्चायतको झझल्को दिएको छ । मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र १९४८ को आर्टिक १९ को विपरित हुने गरी सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप गरेको हो । अब बालेन्द्र शाह नेतृत्वको सरकारले कैयौं अन्तर्राष्ट्रिय कानुनको सामना गर्नुपर्ने हुनसक्दछ ।
अधिवक्ता धनन्जय खनालले प्रेसमाथिको सरकारी हस्तक्षेपले सरकार थप दमनतर्फ उन्मुख हुने संकेत दिएको प्रतिक्रिया दिए । अधिवक्ता खनाल भन्छन्, ‘अहिलेको अवस्था हेर्दा प्रमुख प्रतिपक्षको भूमिका सञ्चार माध्यमले खेलिरहेको र किशोर श्रेष्ठले त्यसको नेतृत्व गरिरहेको देखिन्छ । राजनीतिक दलहरु सुसुप्त अवस्थामा छन् । विगतका गल्ती कमजोरीहरुका कारण अझै शिर ठाडो पार्न सकिरहेका छैनन् । दलहरुले सरकारको आलोचना गर्ने हुति नभएकोले प्रेस जगतले सरकारको प्रतिपक्षको आवाज बन्द गर्न प्रेसमाथि हस्तक्षेप गरेको हो । किशोर श्रेष्ठलाई बिनाशर्त तत्कालै रिहा गर्नुपर्दछ ।’
उता, अधिवक्ता अनन्त लुईटेलले पनि समाचार लेखेकै आधारमा पत्रकार तथा प्रेसमाथि कुनै प्रकारको हस्तक्षेप गर्न नहुने धारणा अघि सारेका छन् । उनले सामाजिक सञ्जाल स्टाटस लेख्दै भनेका छन्, ‘विचार र अभिव्यक्तिको स्वतन्त्रता नै लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण स्वतन्त्रता हो । जनआस्थाका अध्यक्ष तथा सम्पादक किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा पक्राउ गरेर वर्तमान राज्य व्यवस्थाले आफ्नो आततायी, अलोकतान्त्रिक, असहिष्णु र विचार विरोधी चरित्र उदांगो बनाएको छ । श्रेष्ठको विनाशर्त रिहाई गर ।’
उता, रास्वपाका केही समर्थकहरु भने किशोर श्रेष्ठ अपराधी भएको भन्दै सरकारलाई उचाल्ने काम गरिरहेका छन् । प्रेस स्वतन्त्र, लोकतन्त्रबारे पर्याप्त ज्ञान नभएका सामाजिक सञ्जालमा स्टन्ट मच्चाउन चाहने भिडको पछाडि लागेर बालेन सरकारले प्रेसमाथि हस्तक्षेप गर्न खोज्दा कतै ज्ञानेन्द्र शाह झै त हुँदैन ? जब ज्ञानेन्द्र शाह पतनको अन्तिमतिर थिए, तब प्रेसमाथि यसरी नै हस्तक्षेप गरेका थिए । कतै दुई तिहाई घण्टीको सरकार पतनै हुन लागेको त होइन ? आशंका जन्मिएको छ ।











