वर्षदिनमा राष्ट्रिय स्तरका विकास बैंकको नाफा ८ अर्ब ६५ करोड, मुक्तिनाथ र गरिमाको प्रतिस्पर्धा

काठमाडौँ । राष्ट्रिय स्तरका आठ वटा विकास बैंकको खुद नाफामा आकर्षक सुधार देखिएको छ । बैंकहरुले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२।०८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार अधिकांश विकास बैंकको मुनाफामा लोभलाग्दो सुधार देखिएको हो ।
गत आर्थिक वर्षमा आठ विकास बैंकले ८ अर्ब ६५ करोड ९३ लाख ३९ हजार रुपैयाँ नाफा कमाएका छन् । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ६३.८२ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा राष्ट्रिय स्तरका विकास बैंकले ५ अर्ब २८ करोड ५७ लाख ४५ हजार रुपैयाँ नाफा कमाएका थिए ।
यसअवधिमा सर्वाधिक धेरै नाफा कमाउने बैंकमा गरिमा विकास बैंक पहिलो स्थानमा रहेको छ । बैंकले चौथो त्रैमाससम्मको अवधिमा आफ्नो मुनाफा ३५.३४ प्रतिशतले बढाएर १ अर्ब ६८ करोड ८६ लाख ६६ हजार रुपैयाँ पुराएको हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीको मुनाफा १ अर्ब २४ करोड ७६ लाख रुपैयाँ रहेको थियो ।
असार मसान्तसम्मको अवधिमा सर्वाधिक नाफा वृद्धि गर्ने बैंकमा ज्योति विकास बैंक पहिलो स्थानमा रहेको छ । बैंकको नाफा ९०२ प्रतिशतले बढेर १ अर्ब ५९ लाख ५२ हजार रुपैयाँ पुराएको हो ।

समिक्षा अवधिमा मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशतले बढेर १ अर्ब ५१ करोड ८३ लाख, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ८२ प्रतिशतले बढेर १ अर्ब १८ करोड १२ लाख, कामना सेवा विकास बैंकको ३३.५१ प्रतिशतले बढेर ८९ करोड ४१ लाख र सांग्रिला डेभलपमेन्ट बैंकको ४६ प्रतिशतले बढेर ८८ करोड ९९ लाख रुपैयाँ पुगेको छ ।
यता, लुम्बिनी विकास बैंकको २५२ प्रतिशतले बढेर ८५ करो १० लाख र महालक्ष्मी विकास बैंकको ४८ प्रतिशतले बढेर ६२ करोड ९९ लाख रुपैयाँ नाफा पुगेको हो ।











