नेपाल इन्स्योरेन्सले कमायो १२ करोड ७५ लाख नाफा, आम्दानीमा उत्साहजनक वृद्धि

काठमाडौं । नेपालको निर्जीवन बीमा क्षेत्रको अग्रणी कम्पनी नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको व्यवसाय विस्तार र बीमा शुल्क आर्जनमा सुधार देखिए पनि खुद नाफामा भने गिरावट आएको छ ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा गत आर्थिक वर्षमा कम्पनीको खुद नाफा ६०.७८ प्रतिशतले घटेर १७ करोड ८४ लाख १७ हजार रुपैयाँमा सीमित हुन पुगेको छ जबकि अघिल्लो वर्ष कम्पनीले ४५ करोड ४८ लाख ६९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
ठूलो मात्रामा दाबी निवेदन पर्नु, कम्पनीको खर्चमा भएको उच्च वृद्धि र लगानीबाट हुने आम्दानीमा कमी आउनुले कम्पनीको नाफामा दबाब परेको हो । समीक्षा अवधिमा कम्पनीको कुल खर्च ३६.१२ प्रतिशतले बढेर १ अर्ब ३७ करोड ८७ लाख रुपैयाँ पुगेको छ भने लगानीबाट हुने आम्दानी २६.०५ प्रतिशतले घटेर २० करोड ७९ लाख रुपैयाँमा खुम्चिएको छ ।

यद्यपि कम्पनीले आफ्नो मुख्य व्यवसाय अर्थात् खुद बीमाशुल्क आर्जनमा भने सन्तोषजनक प्रगति गरेको देखिन्छ । अघिल्लो वर्ष ९५ करोड ५ लाख रुपैयाँ रहेको खुद बीमा शुल्क १८.१५ प्रतिशतले बढेर १ अर्ब १२ करोड ३० लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको चुक्ता पुँजी ३४.७८ प्रतिशतले वृद्धि भई २ अर्ब ५४ करोड ८५ लाख रुपैयाँ पुगेको छ । व्यवसाय विस्तारसँगै बीमा कोषको आकार २३.१८ प्रतिशतले बढेर २ अर्ब ४१ करोड ६६ लाख रुपैयाँ पुगेको छ। कम्पनीले यस अवधिमा २ लाख २२ हजार ७४१ वटा बीमा पोलिसी जारी गरेको छ जुन अघिल्लो वर्षको २ लाख १५ हजार ४८ को तुलनामा केही बढी हो । कुल दाबी भुक्तानी २९.२८ प्रतिशतले बढेको छ भने अभिकर्तालाई दिइने कमिसन खर्च ६५.७१ प्रतिशतले बढेको छ ।
नाफामा आएको गिरावटसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) मा पनि गिरावट लागेको छ । अघिल्लो वर्ष १६ रुपैयाँ ७४ पैसा रहेको प्रतिशेयर आम्दानी अहिले घटेर ५ रुपैयाँमा झरेको छ । हाल कम्पनीको प्रतिशेयर नेटवर्थ १७६ रुपैयाँ ८५ पैसा रहेको छ भने महाविपत्ति कोषमा ११ करोड ८५ लाख रुपैयाँ सञ्चित छ । कम्पनीले ५ अर्ब ५० करोड रुपैयाँ लगानी गरेको छ ।











