चौथो त्रैमाससम्म आइपुग्दा कस्तो छ नेशनल इन्स्योरेन्सको वित्तीय अवस्था ?

२९ श्रावण २०८३, शुक्रबार ०९:१८

काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद घाटामा केही सुधार देखिएको छ तर व्यवसायिक सूचकहरूमा भने केही दबाब देखिएको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले १३ करोड १० लाख ७५ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको १५ करोड ७ लाख ४० हजार रुपैयाँ घाटाको तुलनामा केही कम हो । कम्पनीको चुक्ता पूँजी ६.६५ प्रतिशतले वृद्धि भई १ अर्ब ६९ करोड २७ लाख रुपैयाँ पुगेको छ भने बीमा कोष पनि करिब १० प्रतिशतले बढेर २ अर्ब ६२ करोड २७ लाख रुपैयाँ पुगेको छ ।

यद्यपि कम्पनीको मुख्य व्यवसायिक आम्दानी अर्थात् खुद बीमाशुल्कमा भने यस वर्ष गिरावट आएको छ । अघिल्लो वर्ष ६५ करोड ४ लाख ६३ हजार रुपैयाँ रहेको यस्तो शुल्क यस वर्ष १२.३९ प्रतिशतले घटेर ५६ करोड ९९ लाख रुपैयाँमा सीमित भएको छ । लगानीबाट हुने आम्दानीमा पनि २८.४१ प्रतिशतको उल्लेख्य गिरावट आउँदा कम्पनीको कुल आम्दानी ७३ करोड ५६ लाख रुपैयाँमा झरेको छ ।

खर्च तर्फ हेर्दा कम्पनीले व्यवस्थापकीय खर्चमा कटौती गरेको देखिन्छ । कुल खर्च २०.७६ प्रतिशतले घटाएर ९२ करोड २९ लाख रुपैयाँमा झार्न सफल भएकाले नै खुद घाटा कम गर्न मद्दत पुगेको हो । तर कुल दाबी भुक्तानीको दायित्व भने अघिल्लो वर्षको तुलनामा करिब १३ प्रतिशतले बढेर ७१ करोड ८ लाख रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको सोल्भेन्सी मार्जिन अनुपात भने ४.०० प्रतिशतमा स्थिर रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*