प्रभु बैंकको नाफा र ईपीएस ऋणात्मक, खराब कर्जा पुग्यो १५.५५ प्रतिशत

काठमाडौं । प्रभु बैंकले गत आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको नाफा २४ करोड १२ लाख रुपैयाँ ऋणात्मक रहेको देखिएको हो ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले ८७ करोड २३ लाख २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । खराब कर्जामा बढ्दा बैंकको नाफा घाटामा जान पुगेको हो ।
अघिल्लो आर्थिक वर्षमा ७.०१ प्रतिशत रहेको बैंकको खराब कर्जा बढेर १५.५५ प्रतिशत पुगेको छ । जोखिम व्यवस्थापन रकम छु्ट्याउदा बैंकको नाफा प्रभावित बनेको छ ।
बैंकको खुद ब्याज आम्दानी २८.७२ प्रतिशतले बढेर ९ अर्ब २६ करोड ५७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त आम्दानी ७ अर्ब १९ करोड ७८ लाख रुपैयाँ रहेको थियो ।
यता, सञ्चालन नाफा भने १ अर्ब ८५ करोड ९८ लाख रुपैयाँबाट १४.३३ प्रतिशतले घटेर १ अर्ब ५९ करोड ३१ लाख रुपैयाँमा खुम्चिएको छ ।
समिक्षा अवधिमा खुद फि तथा कमिसन आम्दानी २ अर्ब २१ करोड, निक्षेप संकलन ३ खर्ब ४८ अर्ब रुपैयाँ र कर्जा प्रवाह २ खर्ब १४ अर्ब रुपैयाँ भएको छ ।
वितरणयोग्य मुनाफा भने ६३ करोड ३१ लाख रुपैयाँ ऋणात्मक रहेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको उक्त मुनाफा २५ करोड ६५ लाख रुपैयाँ ऋणात्मक रहेको थियो ।
बैंक नाफा ऋणात्मक भएसँगै प्रतिशेयर आम्दानी पनि ऋणात्मक भएको छ । ३.७१ रुपैयाँ रहेको प्रतिशेयर आम्दानी १.०२ रुपैयाँ ऋणात्मक छ । बैंकको प्रतिशेयर नेटवर्थ भने १८९.६० रुपैयाँ रहेको छ ।











