एनएलजी इन्स्योरेन्सद्वारा सल्यानमा कृषि तथा पशुपन्छी बीमा सचेतना कार्यक्रम, ४३ कृषक सहभागी

काठमाडौँ । कृषकलाई बीमाको दायरामा ल्याउने उद्देश्यले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड, सल्यान शाखाले त्रिवेणी गाउँपालिका–५ स्थित वडा कार्यालयमा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा एनएलजी इन्स्योरेन्स सल्यान शाखाका प्रमुख अनुराग बोहराले कम्पनीले विगत केही वर्षदेखि गाउँ–गाउँ तथा कृषकको घरदैलोमा पुगेर कृषि तथा पशुपन्छी बीमाबारे जानकारी दिने अभियान सञ्चालन गर्दै आएको बताए। उनले बीमालाई कृषकको जोखिम व्यवस्थापन तथा आर्थिक सुरक्षाको प्रभावकारी माध्यमका रूपमा प्रस्तुत गर्दै अधिकतम कृषकलाई बीमाको पहुँचमा ल्याउन कम्पनी निरन्तर सक्रिय रहेको जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि तथा त्रिवेणी गाउँपालिका–५ का वडा अध्यक्ष बिमल रावतले कार्यक्रममा प्राप्त जानकारीलाई टोल–टोलसम्म पुर्याई कृषकहरूलाई बीमाको महत्व बुझाउन आग्रह गरे । उनले नेपाल सरकारले कृषि तथा पशुपन्छी बीमामा उपलब्ध गराउँदै आएको ८० प्रतिशत बीमा शुल्क अनुदानको अधिकतम लाभ लिन कृषकहरूलाई अनुरोध गरे । प्राकृतिक विपत्ति, रोगव्याधि तथा अन्य विभिन्न जोखिमबाट हुने क्षतिको अवस्थामा बीमाले कृषकलाई ठूलो राहत प्रदान गर्ने उनको भनाइ थियो।
कार्यक्रमको अध्यक्षता गरेका शाखा प्रमुख बोहराले सहभागीहरूले उठाएका विभिन्न जिज्ञासाहरूको समाधान गर्दै कृषि तथा पशुपन्छी बीमाका प्रावधान, दाबी प्रक्रिया, बीमाको आवश्यकता तथा महत्वबारे विस्तृत जानकारी गराए । कार्यक्रममा पशुधन बीमालेख, खाद्यबाली बीमालेख, तरकारीबाली बीमालेख, फलफूल तथा अन्य कृषि उत्पादनसम्बन्धी बीमाका विषयमा विस्तृत छलफल गरिएको थियो।
सहभागी कृषकहरूलाई कृषि तथा पशुपन्छी बीमाको ALIS System सम्बन्धी जानकारी दिँदै बीमालेख जारी गर्ने तथा दाबी भुक्तानी प्रक्रिया पनि सोही प्रणालीमार्फत सञ्चालन हुने जानकारी गराइएको थियो। यसले बीमा प्रक्रियालाई थप पारदर्शी, सरल तथा प्रभावकारी बनाएको बताइएको छ।
शाखा प्रमुख बोहराले हाल कायम रहेको ८० प्रतिशत सरकारी अनुदानको सुविधाबाट लाभ लिन कृषकहरूलाई आग्रह गर्दै आगामी दिनहरूमा पनि यस्ता सचेतनामूलक कार्यक्रमलाई अझ व्यापक रूपमा सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा त्रिवेणी गाउँपालिका–५ का विभिन्न टोलबाट ४३ जना कृषक तथा सरोकारवालाको सहभागिता रहेको थियो। सहभागीहरूले कृषि तथा पशुपन्छी बीमासम्बन्धी आफ्ना जिज्ञासा, समस्या तथा सुझाव प्रस्तुत गर्दै कार्यक्रम उपयोगी र फलदायी भएको प्रतिक्रिया दिएका थिए।
कार्यक्रममा कार्यपालिका सदस्य रत्नकुमारी बोहरा, वडा सदस्यहरू धर्मबहादुर घर्ती, गौरी बिक र लिलामणि गिरी, वडा सचिव देवराज बिक, सामाजिक अभियन्ता ज्ञानेन्द्र पुन, टोल विकास संस्थाका अध्यक्ष टेकबहादुर बोहरालगायत जनप्रतिनिधि, सरकारी कर्मचारी तथा स्थानीय अगुवाहरूको उपस्थिति रहेको थियो।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सरोकारवाला निकाय, जनप्रतिनिधि, कर्मचारी तथा सहभागी कृषकहरूप्रति धन्यवाद व्यक्त गर्दै एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका बिजनेस कोअर्डिनेटर सुनील श्रेष्ठले कृषकको घरदैलोमै पुगेर बीमा सचेतना अभिवृद्धि गर्ने अभियानलाई निरन्तरता दिइने बताए ।











