गणित विज्ञान स्कूलको भवन हस्तान्तरण

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सामान्य प्रशासन महाशाखाले बहुवर्षीय योजना अन्तर्गत निर्माण सम्पन्न भएको ‘त्रिवि म्याथम्याटिकल साइन्सेज भवन’ गणित विज्ञान स्कूलसहित सम्बन्धित विभागलाई हस्तान्तरण गरेको छ।
कुल १२ करोड २१ लाख ३ हजार ७६७ रुपैयाँ लागतमा निर्माण भएको उक्त भवन निर्माणका लागि २०७२ साल भदौ २४ गते श्री एट्लासरसत्येश्वररकविन्द्र जेभीसँग दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो। भवनको निर्माण कार्य भने २०७६ साल भदौ ९ गते सम्पन्न भएको थियो।
निर्माण सम्पन्न भएपछि भवन गणित विज्ञान स्कूललाई हस्तान्तरण नगरी गणित केन्द्रीय विभाग, तथ्याङ्कशास्त्र केन्द्रीय विभाग तथा कम्प्युटर साइन्स तथा सूचना प्रविधि केन्द्रीय विभागलाई प्रयोगका लागि दिइएको थियो। तर, हस्तान्तरण भएको चार वर्षसम्म पनि भवन प्रयोगमा नआएपछि त्यहाँ सेन्ट्रल ल्याब बनाउने निर्णय गरिएको थियो।
गणित विज्ञान स्कूलका लागि निर्माण गरिएको भवन लामो समयदेखि प्रयोगविहीन र जीर्ण अवस्थामा रहेपछि स्कूलले आफ्नै भवनका लागि त्रिविसँग निरन्तर पहल गर्दै आएको थियो। स्कूलले भवन उपलब्ध गराउन नसकिए जग्गा उपलब्ध गराउन आग्रह गर्दै त्रिवि कार्यकारी परिषद्मा पत्राचार गरेको थियो।
त्रिवि कार्यकारी परिषद्को २०८२ फागुन १० गते बसेको बैठकले उक्त भवनको स्वामित्व गणित विज्ञान स्कूल, गणित केन्द्रीय विभाग, तथ्याङ्कशास्त्र केन्द्रीय विभाग र कम्प्युटर केन्द्रीय विभागले संयुक्त रूपमा लिने निर्णय गरेको गणित विज्ञान स्कूलका निमित्त निर्देशक केशव राज फुलाराले जानकारी दिए।
भवन हस्तान्तरण कार्यक्रममा गणित केन्द्रीय विभागका प्रमुख प्रा।डा। चेतराज भट्ट, तथ्याङ्कशास्त्र केन्द्रीय विभागका प्रमुख माधवकुमार भुषाल, कम्प्युटर केन्द्रीय विभागका प्रमुख डा। धिरज केदार पाण्डे तथा स्कूलका निर्देशक केशव राज फुलारालाई त्रिवि सामान्य प्रशासन महाशाखा प्रमुख राजबहादुर राईले भवन हस्तान्तरण गरे।
भवन हस्तान्तरणपछि जतिसक्दो चाँडो मर्मतसम्भार गरी अत्याधुनिक कक्षाकोठा तथा सेमिनार हललगायतका पूर्वाधार तयार गरेर सञ्चालनमा ल्याउने तयारी रहेको निर्देशक फुलाराले बताए।
गणित विज्ञान स्कूलमा हाल विश्व बजारमा उच्च माग रहेका स्नातक तहका एक्चुअरियल साइन्स र डाटा साइन्स तथा स्नातकोत्तर तहको डाटा साइन्स कार्यक्रम सञ्चालन भइरहेका छन्। विगत १० वर्षदेखि जनप्रशासन क्याम्पसमा कक्षा सञ्चालन गर्दै आएको स्कूल आफ्नै भवनमा सर्न लागेपछि विद्यार्थी तथा प्राध्यापकमा उत्साह थपिएको छ।
त्रिविका निमित्त रेक्टर एवं विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्रा।डा। शंकरप्रसाद खनालले स्कूललाई अत्याधुनिक फर्निचरसहित आफ्नै भवनमा व्यवस्थित रूपमा स्थानान्तरण गर्न निर्देशन दिएका छन्।











