हिमालयन लाइफले कमायो ३१ करोड ७७ लाख नाफा, जीवन बीमाकोष ८९ अर्ब नाघ्यो

३१ श्रावण २०८३, आईतवार ०६:५३

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको नाफामा गिरावट देखिए तापनि जीवन बीमा कोष र जगेडा कोषको आकारमा भने उत्साहजनक वृद्धि भएको देखिएको छ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ५४ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्ममा नाफा ४१.९० प्रतिशतले घटेर ३१ करोड ७७ लाख रुपैयाँमा सीमित भएको छ। नाफामा आएको यो संकुचनसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि अघिल्लो वर्षको ५ रुपैयाँ ९८ पैसाबाट घटेर ३ रुपैयाँ ४८ पैसा कायम भएको छ।

नाफा घटे पनि कम्पनीको जीवन बीमा कोषमा भने १६.२१ प्रतिशतको बलियो सुधार देखिएको छ। अघिल्लो वर्ष ७६ अर्ब ९४ करोड १५ लाख रुपैयाँ रहेको यो कोष हाल ८९ अर्ब ४१ करोड ५० लाख रुपैयाँ पुगेको छ। त्यसैगरी कम्पनीको रिटेन्ड अर्निङमा पनि ४८.८७ प्रतिशतको आकर्षक वृद्धि भई १ अर्ब ४ करोड ६४ लाख रुपैयाँ पुगेको छ। महाविपत्ति जगेडा कोषमा पनि सामान्य सुधार भई ४७ करोड २२ लाख रुपैयाँ पुगेको छ।

व्यवसाय विस्तारको क्रममा कम्पनीले खुद बीमा शुल्क आर्जनलाई ६.१८ प्रतिशतले बढाएर १८ अर्ब ३२ करोड ५८ लाख रुपैयाँ पुर्‍याएको छ। यद्यपि कुल आम्दानीमा भने ३.५९ प्रतिशतको ह्रास आएर २४ अर्ब ५० करोड ९ लाख रुपैयाँ कायम भएको छ। यसै अवधिमा कम्पनीको कुल खर्चमा पनि सामान्य ०.६९ प्रतिशतको कमी आएर २३ अर्ब ६७ करोड २९ लाख रुपैयाँ रहेको छ।

कुल दाबी भुक्तानी ७.९२ प्रतिशतले बढेर ७ अर्ब ९१ करोड ९४ लाख रुपैयाँ पुगेको छ भने अभिकर्ता कमिसनमा ४.२० प्रतिशतको वृद्धि भई १ अर्ब ५२ करोड ४३ लाख रुपैयाँ खर्च भएको छ। हाल कम्पनीको चुक्ता पुँजी ९ अर्ब १४ करोड ३२ लाख रुपैयाँमा स्थिर रहेको छ भने प्रतिशेयर नेटवर्थ ९३ रुपैयाँ ३१ पैसा कायम भएको छ। सोल्भेन्सी मार्जिन अनुपात ३.८६ प्रतिशतबाट घटेर १.३२ प्रतिशतमा कायम भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*