प्रभु इन्स्योरेन्सको लोभलाग्दो प्रगतिः नाफामा झण्डै २० प्रतिशत वृद्धि, आम्दानीमा पनि उल्लेख्य सुधार

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा आफ्नो नाफामा उल्लेख्य सुधार गर्दै बलियो वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा खुद नाफामा झन्डै २० प्रतिशतको वृद्धि देखिएको छ ।
समीक्षा अवधिमा कम्पनीले २४ करोड ६४ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ जुन अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको २० करोड ५८ लाख ६० हजार रुपैयाँको तुलनामा १९.७१ प्रतिशतले बढी हो । नाफामा देखिएको यो उत्साहजनक वृद्धिसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) मा पनि सुधार आएको छ । अघिल्लो वर्ष ११ रुपैयाँ १३ पैसा रहेको ईपीएस गत असार मसान्तसम्म बढेर १३ रुपैयाँ ३३ पैसा कायम भएको छ ।
कम्पनीको चुक्ता पुँजीमा २८.२७ प्रतिशतको वृद्धि भई १ अर्ब ८४ करोड ८९ लाख रुपैयाँ पुगेको छ । कम्पनीको बीमा कोषको आकार २०.५१ प्रतिशतले बढेर ३ अर्ब १६ करोड ४० लाख रुपैयाँ पुगेको छ जुन अघिल्लो वर्ष २ अर्ब ६२ करोड ५५ लाख ७६ हजार रुपैयाँ मात्र थियो । महाविपत्ति कोष पनि १२.१७ प्रतिशतले बढेर ११ करोड ३५ लाख रुपैयाँ पुगेको छ । यद्यपि रिटेन्ड अर्निङमा भने ७५.७४ प्रतिशत गिरावट आएर १० करोड ४१ लाख रुपैयाँमा सीमित भएको छ ।

व्यवसायिक वृद्धितर्फ हेर्दा कम्पनीको खुद बीमा शुल्क आर्जनमा ६.४२ प्रतिशतको वृद्धि देखिएको छ । कम्पनीले गत आर्थिक वर्षमा ६९ करोड ४५ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । कम्पनीको कुल आम्दानी ८.०३ प्रतिशतले बढेर १ अर्ब १ करोड ९ लाख रुपैयाँ पुग्दा कुल खर्चमा भने १.०५ प्रतिशतको गिरावट आएको छ ।
समीक्षा अवधिमा कुल दाबी भुक्तानी १०.०३ प्रतिशतले घटेर ५० करोड १२ लाख रुपैयाँमा झरेको छ भने अभिकर्ता कमिसन खर्च पनि ३१.९० प्रतिशतले घटेर ३ करोड ५१ लाख रुपैयाँमा सीमित भएको छ । लगानीबाट हुने आम्दानीमा भने १.७८ प्रतिशतको सामान्य गिरावट आएर ८ करोड ३२ लाख रुपैयाँ कायम भएको विवरणमा उल्लेख छ ।











