चौथो त्रैमाससम्ममा मजबुद शिखर इन्स्योरेन्सः बीमा व्यवसाय १० प्रतिशतले बढ्यो, नाफासहित अन्य सूचक कस्तो ?

काठमाडौं । निर्जीवन बीमा व्यवसायमा स्थापित शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा बीमा व्यवसायका महत्वपूर्ण सूचकमा सुधार गरेको छ ।
कम्पनीले समीक्षा अवधिमा १३ करोड ८ लाख ९० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ४५ करोड २० लाख १० हजार रुपैयाँ रहेको थियो । यसअनुसार नाफामा अघिल्लो वर्षको तुलनामा ७१.२२ प्रतिशत कमी आएको छ । बढ्दो दाबी भुक्तानी र कुल खर्चका कारण नाफामा दबाब परेको देखिए पनि कम्पनीको बीमा व्यवसाय तथा वित्तीय आधारका महत्वपूर्ण सूचकमा भने सुधार कायम रहेको छ ।
कम्पनीको चुक्ता पूँजी ६.११ प्रतिशतले वृद्धि भई ३ अर्ब १० करोड १५ लाख ६७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको चुक्ता पूँजी २ अर्ब ९२ करोड ३० लाख ९९ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको बीमा कोषमा भने उल्लेख्य वृद्धि भएको छ । समीक्षा अवधिमा बीमा कोष ३३.५३ प्रतिशतले बढेर ७ अर्ब ९४ करोड ७३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो कोष ५ अर्ब ९५ करोड १५ लाख रुपैयाँ रहेको थियो ।
त्यस्तै, कम्पनीले विपद् कोष पनि ४.०४ प्रतिशतले वृद्धि गरी १६ करोड ७६ लाख रुपैयाँ पुर्याएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो कोष १६ करोड ११ लाख रुपैयाँ रहेको थियो । जोखिम व्यवस्थापनका लागि कोष विस्तारले कम्पनीको वित्तीय सुरक्षालाई थप बलियो बनाएको छ ।
बीमा व्यवसाय विस्तारतर्फ पनि कम्पनीले सकारात्मक प्रगति गरेको छ । समीक्षा अवधिमा कम्पनीले १ अर्ब ९५ करोड ५० लाख ८० हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आर्जन १ अर्ब ७६ करोड ७१ लाख ८ हजार रुपैयाँ रहेको थियो । यसअनुसार खुद बीमा शुल्क आर्जन १०.६४ प्रतिशतले बढेको हो ।
कम्पनीले यस अवधिमा ३ लाख ३६ हजार २ वटा बीमा लेख जारी गरेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो संख्या ३ लाख ९ हजार ८६३ रहेको थियो । बीमा लेखको संख्या बढ्नुले कम्पनीको बीमा व्यवसायको पहुँच र विस्तारमा निरन्तरता देखाएको छ ।
समीक्षा अवधिमा कम्पनीले ३ अर्ब ९७ करोड ५७ लाख ८८ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष यस्तो भुक्तानी ३ अर्ब २ करोड ७९ लाख ५ हजार रुपैयाँ रहेको थियो । दाबी भुक्तानीमा ३१.३० प्रतिशत वृद्धि हुनु कम्पनीले बीमितप्रतिको दायित्व निर्वाहलाई प्राथमिकतामा राखेको संकेत हो ।
कम्पनीको कुल आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा कुल आम्दानी २ अर्ब ९५ करोड ५४ लाख ५१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीको कुल आम्दानी २ अर्ब ७५ करोड ७ लाख ४३ हजार रुपैयाँ रहेको थियो । यसअनुसार कुल आम्दानी ७.४४ प्रतिशतले वृद्धि भएको हो ।
यता, लगानीबाट प्राप्त आम्दानी भने केही घटेको छ । अघिल्लो वर्ष २५ करोड ४४ लाख ९१ हजार रुपैयाँ रहेको लगानी आम्दानी समीक्षा अवधिमा १८ करोड ६३ लाख १६ हजार रुपैयाँमा सीमित भएको छ । यस अवधिमा कम्पनीको कुल खर्च २ अर्ब ७७ करोड ८० लाख ५७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो खर्च २ अर्ब ८ करोड ८३ लाख ७ हजार रुपैयाँ रहेको थियो । व्यवसाय विस्तार, दाबी भुक्तानीलगायतका गतिविधिमा भएको वृद्धिसँगै खर्च बढेको देखिन्छ ।
कम्पनीको कमिसन खर्च भने १६.७९ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षमा ७ करोड २९ लाख ९६ हजार रुपैयाँ रहेको यस्तो खर्च समीक्षा अवधिमा ६ करोड ७ लाख ४२ हजार रुपैयाँमा झरेको छ ।
कम्पनीको सञ्चित आम्दानी भने अघिल्लो वर्षको तुलनामा ६२.०६ प्रतिशतले घटेर ७ करोड ९८ लाख ६६ हजार रुपैयाँमा कायम भएको छ । अघिल्लो वर्ष यस्तो आम्दानी २१ करोड ४ लाख ८९ हजार रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ १९ पैसा कायम भएको छ । अघिल्लो वर्ष यस्तो आम्दानी १५ रुपैयाँ ५० पैसा रहेको थियो । त्यस्तै, कम्पनीको प्रतिशेयर नेटवर्थ १९१ रुपैयाँ ९५ पैसा कायम भएको छ ।











