सलिको इन्स्योरेन्स व्यवसाय विस्तारमा आक्रामक, चौथो त्रैमाससम्म आइपुग्दा अन्य वित्तीय सूचक कस्ता ?

३१ श्रावण २०८३, आईतवार ०९:०१

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) ले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै आफ्नो बलियो व्यावसायिक उपस्थिति देखाएको छ। कम्पनीले व्यवसाय विस्तार र ग्राहकको विश्वास जित्ने क्रममा उल्लेख्य प्रगति हासिल गरेको छ। यद्यपि दाबी भुक्तानी र खर्चमा भएको वृद्धिले खुद नाफामा भने केही दबाब परेको देखिन्छ।

कम्पनीले व्यवसायको प्रमुख सूचक खुद बीमाशुल्क आम्दानीमा १०.७२ प्रतिशतको वृद्धि हासिल गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा २ अर्ब ११ करोड ३५ लाख रुपैयाँ रहेको यस्तो आम्दानी गत वर्ष बढेर २ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ। व्यवसाय विस्तारकै क्रममा अघिल्लो वर्ष १ लाख ५३ हजार ७०४ वटा पोलिसी जारी गरेको कम्पनीले गत वर्ष २ लाख ६९ हजार ९९८ पुर्‍याएको छ।

यद्यपि व्यवसाय बढेसँगै कम्पनीको दायित्व र खर्चमा पनि उल्लेख्य वृद्धि भएको छ। कम्पनीले गर्ने कुल दाबी भुक्तानीमा ३६.९२ प्रतिशतको वृद्धि भई ४ अर्ब ९६ करोड ३५ लाख पुगेको छ जुन अघिल्लो वर्ष ३ अर्ब ६२ करोड ५१ लाख मात्र थियो। यसका साथै अभिकर्ता कमिसन खर्चमा ७८.३२ प्रतिशतको वृद्धि हुनु र लगानीबाट हुने आम्दानीमा ३१.८९ प्रतिशतको गिरावट र कुल खर्चमा १०.३५ प्रतिशतको वृद्धिले कम्पनीको नाफामा असर पारेको देखिन्छ।

कम्पनीको खुद नाफामा अघिल्लो वर्षको तुलनामा २२.३५ प्रतिशतले गिरावट आएको छ। अघिल्लो वर्ष ४० करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले गत वर्ष ३१ करोड ३० लाखमा चित्त बुझाउनुपरेको छ। नाफासँगै प्रतिशेयर आम्दानी (ईपीएस) पनि १५ रुपैयाँ ३७ पैसाबाट घटेर ११ रुपैयाँ ९४ पैसा कायम भएको छ।

२ अर्ब ६२ करोड २६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको महाविपत्ति कोषमा १४.६७ प्रतिशतले वृद्धि भई २४ करोड ४७ लाख पुगेको छ। यद्यपि बीमा कोष भने १७.१६ प्रतिशतले घटेर ५ अर्ब ५४ करोडमा झरेको छ। कम्पनीको जगेडा कोष (रिटेन्ड अर्निङ) मा पनि केही गिरावट आएर ३४ करोड ७९ लाख कायम भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*