एक वर्षमा जीवन बीमकको नाफा साढे ५ अर्बः अग्रस्थानमा आइएमई र रिलायबल, वृद्धिदरमा आक्रामक सिटिजन

३१ श्रावण २०८३, आईतवार ०९:४६

काठमाडौँ । गत आर्थिक वर्ष २०८२।०८३ मा जीवन बीमा कम्पनीहरुको खुद नाफा करिब साढे ५ अर्ब रुपैयाँ पुगेको छ । बीमा कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार १४ जीवन बीमा कम्पनीले वर्षदिनमा ५ अर्ब ४४ करोड ५२ लाख १७ हजार रुपैयाँ मुनाफा आर्जन गरेका हुन् ।

बीमा कम्पनीहरुले आर्जन गरेको नाफा अघिल्लो आर्थिक वर्ष २०८१।०८२ को तुलनामा भने १०.५३ प्रतिशत हो । अघिल्लो आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरुले ६ अर्ब ८ करोड ६० लाख ६० हजार रुपैयाँ नाफा आर्जन गरेका थिए ।

समीक्षा अवधिमा मुनाफा आर्जनको आधारमा आइएमई लाइफ इन्स्योरेन्स र व्यवसाय वृद्धिदरको आधारमा सिटिजन लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेका छन् । कम्पनीहरुले आफ्ना अभिकर्ताहरुलाई सक्रिय बनाउँदै व्यवस्थानमा सुधार दिदाँ वित्तीय प्रगती हासिल गरेका हुन् ।

समीक्षा अवधिमा आइएमई लाइफ इन्स्योरेन्सले ५८ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ०.१६ प्रतिशत बढी रहेको छ

साथै, दोस्रो नम्बरमा रहेको रिलायबल नेपाल लाइफको मुनाफा २.१८ प्रतिशतले बृद्धि भई ५७ करोड १ लाख रुपैयाँबाट ५८ करोड २६ लाख रुपैयाँ पुगेको छ । नेपाल लाइफको मुनाफा भने १५.०२ प्रतिशतले घटेर ४६ करोड ५४ लाख रुपैयाँ पुगेको छ ।

चौथो त्रैमाससम्मको अवधिमा सन नेपाल लाइफले ४१ करोड ८५ लाख ९९ हजार रुपैयाँ नाफा कमाएको छ । तर, उक्त नाफा अघिल्लो आवको तुलनामा भने २२.८४ प्रतिशतले कम हो ।

यता, एशियन लाइफको मुनाफा १.१९ प्रतिशतले बढेर ४१ करोड ४२ लाख पुगेको छ भने एनआईसी नेपालको २८ प्रतिशतले बढेर ४० करोड ५७ लाख रुपैयाँ पुगेको वित्तीय विवरणमा उल्लेख छ ।

वृद्धिदरमा सबैभन्दा अघि रहेको सिटिजन लाइफको नाफा अघिल्लो आवको तुलनामा गत आवमा १०६.६३ प्रतिशतले बढेको हो । वर्षदिनमा कम्पनीको नाफा ३९ करोड ८ लाख रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षमा सानिमा रिलायन्सको १.६९ प्रतिशतले बढेर ३८ करोड ३८ लाख, सूर्यज्योति लाइफको ८.५५ प्रतिशतले बढेर ३८ करोड २ लाख, मेट लाइफको ५५ प्रतिशतले घटेर ३७ करोड ९२ लाख, प्रभु महालक्ष्मी लाइफको १.३१ प्रतिशतले बढेर ३७ करोड ५५ लाख, नेशनल लाइफको १० प्रतिशतले घटेर ३७ करोड ६ लाख र हिमालयन लाइफको ४१ प्रतिशतले घटेर ३१ करोड ७७ लाख रुपैयाँ पुगेको हो ।

सरकारी बीमा कम्पनी राष्ट्रिय जीवन बीमाको नाफा भने ऋणात्मक रहेको छ । गत आर्थिक वर्षमा कम्पनी २ करोड ३८ लाख रुपैयाँ घाटामा रहेको छ ।

नोटः जीवन बीमा कम्पनीको वास्तविक मुनाफा बीमाङ्कीय मूल्याङ्कनपछि मात्र निश्चित हुन्छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*