लिबर्टी माइक्रो लाइफको आम्दानी बढ्यो, अधिकांश वित्तीय सूचकमा प्रगति

३१ श्रावण २०८३, आईतवार १०:१८

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार समीक्षा अवधिमा कम्पनीको व्यवसाय विस्तार र बिमा शुल्क आर्जनमा राम्रो प्रगति देखिए पनि खुद नाफामा भने संकुचन आएको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ४४ करोड १ लाख रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ जुन अघिल्लो आर्थिक वर्षको २७ करोड १४ लाख रुपैयाँको तुलनामा ६२.१३ प्रतिशतले बढी हो । यस्तै जीवन बिमा कोषमा १३२.७२ प्रतिशतको छलाङ मार्दै ४४ करोड ८२ लाख रुपैयाँ सञ्चित भएको छ जुन अघिल्लो वर्ष १९ करोड २६ लाख रुपैयाँ मात्र थियो ।

कम्पनीको खुद नाफामा भने ९५.९८ प्रतिशतको गिरावट आएको छ । अघिल्लो आर्थिक वर्ष १ करोड १४ लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले गत आर्थिक वर्षमा मात्र ४ लाख ६२ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । कुल दाबी भुक्तानीमा भएको ३६३.२८ प्रतिशतको उच्च वृद्धि र कुल खर्चमा भएको ५१.५७ प्रतिशतको वृद्धिले नाफा दबाबमा परेको हो ।

कम्पनीको चुक्ता पुँजी ५२ करोड ५० लाख रुपैयाँमा स्थिर रहेको छ । जगेडा कोष (रिटेन्ड अर्निङ) ५.६७ प्रतिशतले बढेर ६ अर्ब ८ करोड ४५ लाख रुपैयाँ पुगेको छ भने महाविपत्ति कोषमा ८ करोड ६७ लाख रुपैयाँ सञ्चित छ । नाफामा आएको गिरावटसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि २ रुपैयाँ १९ पैसाबाट घटेर ९ पैसामा सीमित हुन पुगेको छ । कम्पनीको सोल्भेन्सी मार्जिन अनुपात भने १.९९ प्रतिशत रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*