लक्ष्मी सनराइज बैंकले कमायो ३ अर्ब ११ करोड नाफा, अधिकांश सूचकमा सुधार

काठमाडौँ । लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म ३ अर्ब ११ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको ४ अर्ब ६ करोड २० लाख रुपैयाँको तुलनामा नाफा २३.२६ प्रतिशत घटे पनि बैंकको मुख्य आम्दानीका स्रोतमा भने उत्साहजनक सुधार देखिएको छ ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.७९ प्रतिशतले वृद्धि भएर ११ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ पुगेको छ । बैंकको कमिसन तथा शुल्कबाट हुने आम्दानी पनि १२.३८ प्रतिशतले बढेर २ अर्ब ४५ करोड ९६ लाख रुपैयाँ पुगेको छ । ब्याज तथा गैरब्याज आम्दानी दुवैमा भएको वृद्धि बैंकको व्यवसाय विस्तार र आम्दानीको आधार बलियो हुँदै गएको संकेतका रूपमा देखिएको छ ।
बैंकले चुनौतीपूर्ण वित्तीय वातावरणका बीच पनि ३ अर्बभन्दा बढी खुद नाफा कायम गर्न सफल भएको छ । नाफामा केही कमी आए पनि आम्दानीका प्रमुख सूचकमा भएको वृद्धि आगामी अवधिमा नाफा सुधारका लागि सकारात्मक आधार बनेको छ ।
बैंकको प्रतिसेयर आम्दानी ११.६४ रुपैयाँ कायम भएको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ १७७.०२ रुपैयाँ र रिटर्न अन इक्विटी ६.७२ प्रतिशत रहेको छ । बैंकको मूल्य–आम्दानी अनुपात १८.४८ गुणा कायम भएको छ ।
वित्तीय स्थायित्वका दृष्टिले पनि बैंकको अवस्था सन्तुलित देखिन्छ । बैंकको पूँजीकोष अनुपात १२.०३ प्रतिशत, तरलता अनुपात ३०.३२ प्रतिशत र सीडी रेसियो ७४.७७ प्रतिशत रहेको छ । कस्ट अफ फण्ड ३.२८ प्रतिशत, बेस रेट ५.०५ प्रतिशत तथा स्प्रेड दर ३.२२ प्रतिशत कायम भएको छ ।
बैंकको खराब कर्जा अनुपात ५.२३ प्रतिशत पुगेको छ । २६ अर्ब ७८ करोड ११ लाख रुपैयाँ चुक्तापूँजी रहेको बैंकले समीक्षा अवधिसम्म रिटेन्ड अर्निङमा १ अर्ब ९६ करोड रुपैयाँ र रिजर्भमा १९ अर्ब २५ करोड रुपैयाँ सञ्चित गरेको छ ।
बैंकले सो अवधिसम्म १ अर्ब ८१ करोड ८९ लाख रुपैयाँ वितरणयोग्य मुनाफा छुट्याएको छ । यसका आधारमा बैंकको लाभांश क्षमता ६.७९ प्रतिशत रहेको छ ।











