कुमारी बैंकको मोबाइल एपबाटै करदाता प्रोत्साहन कार्यक्रममा सहभागी हुन सकिने

१ भाद्र २०८३, सोमबार ११:३३

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि मोबाइल बैंकिङ एपमा आन्तरिक राजस्व विभाग (आईआरडी) को करदाता प्रोत्साहन कार्यक्रम सम्बन्धी सुविधा थप गरेको छ।

नेपाल सरकारको करदाता प्रोत्साहन कार्यक्रमलाई सहयोग गर्ने उद्देश्यले बैंकले ‘कुमारी स्मार्ट’ मोबाइल एपमा यो सुविधा उपलब्ध गराएको हो। आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत शुरु भएको उक्त कार्यक्रमले ग्राहकलाई प्यान तथा भ्याट बिल लिन प्रोत्साहित गर्नुका साथै डिजिटल भुक्तानी, कर पालना र वित्तीय पारदर्शिता बढाउने लक्ष्य राखेको छ।

अब कुमारी बैंकका ग्राहकले नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि १०० रुपैयाँभन्दा बढीको वस्तु वा सेवा खरिद गरी व्यापारीको क्यूआरमार्फत भुक्तानी गरेपछि स्वतः पुरस्कार योजनामा सहभागी हुन सक्नेछन्। ग्राहकले कुमारी स्मार्ट एपको ‘आईआरडी प्रोत्साहन कार्यक्रम’ मेनुमा गएर आफूले गरेका योग्य कारोबारको संख्या, कारोबार विवरण तथा पुरस्कारको अवस्थासमेत हेर्न सक्नेछन्।

आन्तरिक राजस्व विभागको व्यवस्थाअनुसार योग्य कारोबारमध्येबाट दैनिक लक्की ड्रमार्फत एक जना ग्राहकले कर कट्टीपछि १ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन्। यस्तै प्रत्येक १५ दिनमा एक जना भाग्यशाली ग्राहकले १० लाख रुपैयाँ बराबरको बम्पर पुरस्कार पाउने व्यवस्था छ। कुमारी बैंकले ग्राहकलाई व्यापारीको क्यूआरमार्फत भुक्तानी गर्न, प्यान तथा भ्याट बिल लिन र बिल सुरक्षित राख्न आग्रह गरेको छ। साथै, मोबाइल एपमार्फत नियमित रूपमा आफ्नो योग्यताको अवस्था जाँच गर्न बैंकले अनुरोध गरेको छ।

बैंकका अनुसार यो सुविधाले डिजिटल कारोबार बढाउनुका साथै नगदरहित अर्थतन्त्र, कर अनुपालन र वित्तीय पारदर्शितालाई थप बल पुग्ने अपेक्षा गरिएको छ। २५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले हाल देशभर २८५ शाखा, ४१ विस्तार काउन्टर, ३०२ एटिएम तथा ४० शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*