निर्जीवन बीमा कम्पनीमा दाबीको चाङ, १ लाखभन्दा बढी फर्छ्योट हुन बाँकी

काठमाडौँ । निर्जीवन बीमा व्यवसाय गर्दै आएका १४ वटा बीमा कम्पनीमा एक लाखभन्दा बढी दाबी फर्छ्योट हुन बाँकी रहेको देखिएको छ। कम्पनीहरूले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरणअनुसार असार मसान्तसम्म कम्पनीमा कुल एक लाख चार हजार ७४८ वटा बीमा दाबी फर्छ्योट हुन बाँकी रहेका हुन् ।
यो संख्या अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा ७.३९ प्रतिशतले बढी हो। आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म १४ निर्जीवन बीमा कम्पनीमा कुल ९७ हजार ५३८ वटा दाबी फर्छ्योट हुन बाँकी थिए। एक वर्षको अवधिमा बाँकी दाबीको संख्या ७ हजार २१० वटाले बढेको देखिन्छ।
बाँकी दाबीको संख्या सबैभन्दा धेरै शिखर इन्स्योरेन्सको रहेको छ। आर्थिक वर्ष २०८२/८३ को असारसम्म शिखर इन्स्योरेन्समा १४ हजार ९९३ वटा दाबी फर्छ्योट हुन बाँकी छन्। अघिल्लो आर्थिक वर्षमा कम्पनीमा १२ हजार ५०७ वटा दाबी बाँकी रहेकामा यस वर्ष १९.८८ प्रतिशतले वृद्धि भएको हो।
त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ११ हजार ६४८ वटा दाबी फर्छ्योट हुन बाँकी छन्। अघिल्लो वर्षको १२ हजार ५२३ वटाको तुलनामा यस वर्ष बाँकी दाबी ६.९९ प्रतिशतले घटेको छ। सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ११ हजार २५९ वटा दाबी बाँकी छन्। अघिल्लो आर्थिक वर्षमा यस्तो संख्या ११ हजार ४९७ वटा थियो।

नेको इन्स्योरेन्समा १० हजार ९०६ वटा, हिमालयन एभरेस्ट इन्स्योरेन्समा ९ हजार ६४० वटा, युनाइटेड अजोड इन्स्योरेन्समा ९ हजार ४९८ वटा, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्समा ७ हजार ८९७ वटा, एनएलजी इन्स्योरेन्समा ६ हजार ५६५ वटा र राष्ट्रिय बीमा कम्पनीमा ५ हजार ९६४ वटा दाबी बाँकी छन्।
त्यस्तै, नेपाल इन्स्योरेन्समा ५ हजार ८९८ वटा दाबी फर्छ्योट हुन बाँकी छन्। अघिल्लो वर्षको ४ हजार ४८९ वटाको तुलनामा यस वर्ष कम्पनीको बाँकी दाबी संख्या ३१ दशमलव ३९ प्रतिशतले बढेको छ। प्रतिशतका आधारमा बाँकी दाबी बढ्ने कम्पनीमध्ये नेपाल इन्स्योरेन्स सबैभन्दा अगाडि रहेको छ।
सानिमा जिआइसी इन्स्योरेन्समा ५ हजार १२० वटा, प्रभु इन्स्योरेन्समा १ हजार ९७० वटा, नेसनल इन्स्योरेन्समा १ हजार ७५० वटा दाबी बाँकी छन्।
त्यसैगरी, द ओरिएन्टल इन्स्योरेन्समा १ हजार ६४० वटा दाबी फर्छ्योट हुन बाँकी छन्। अघिल्लो आर्थिक वर्षमा कम्पनीमा १ हजार ६०३ वटा दाबी बाँकी रहेकामा यस वर्ष यस्तो संख्या २ दशमलव ३१ प्रतिशतले बढेको छ।











