एनएमबि बैंकको नेतृत्वमा ४४० मेगावाटको तिला–१ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

३ भाद्र २०८३, बुधबार ०९:२४

काठमाडौं । एनएमबि बैंक लिमिटेडको अगुवाइमा कालीकोटमा निर्माण हुन लागेको ४४० मेगावाट क्षमताको तिला–१ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन भएको छ।

तिला खोलामा एससी पावर कम्पनी प्रालिले निर्माण गर्न लागेको आयोजनाको कुल अनुमानित लागत ५९ अर्ब ४० करोड रुपैयाँ रहेको छ। यसमध्ये ४४ अर्ब ५५ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी हुनेछ।

वित्तीय व्यवस्थापनमा एनएमबि बैंक अगुवा बैंकका रूपमा रहेको छ। ग्लोबल आइएमई बैंक, हिमालयन बैंक र प्रभु बैंक सह–अगुवा बैंकका रूपमा रहेका छन् भने अन्य बैंक तथा वित्तीय संस्थासमेत आयोजनामा सहभागी हुनेछन्।

सम्झौतामा एनएमबि बैंकका सहायक महाप्रबन्धक दिनेश दुलाल र एससी पावर कम्पनीका अध्यक्ष सुसन कर्माचार्यले हस्ताक्षर गरेका छन्। निजी क्षेत्रको लगानी तथा नेतृत्वमा निर्माण हुन लागेको तिला–१ हालसम्मकै ठूलो जडित क्षमताको जलविद्युत आयोजना भएको कम्पनीले जनाएको छ।

आयोजनाले व्यावसायिक उत्पादन वि.सं. २०८७ पुस १५ गतेदेखि शुरु गर्नुपर्नेछ। निर्माण सम्पन्न भएपछि पहिलो वर्ष करिब ११ अर्ब ४० करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ।

आयोजनाको वातावरणीय तथा सामाजिक पक्षको मूल्याङ्कनसमेत गरिएको बैंकले जनाएको छ। बैंकले दिगो तथा जिम्मेवार लगानीलाई प्राथमिकता दिँदै आएको र हालसम्म ५० भन्दा बढी जलविद्युत आयोजनामा लगानी गरिसकेको जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*