२४ घण्टामा देशभर सवारी दुर्घटनामा ५ जनाको मृत्यु, १२५ घाइते

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ भने १२५ जना घाइते भएका छन्। नेपाल प्रहरीले भदौ २ गते सार्वजनिक गरेको २४ घण्टाको तथ्याङ्कअनुसार देशका विभिन्न प्रदेश तथा काठमाडौँ उपत्यकामा भएका सवारी दुर्घटनामा उक्त मानवीय क्षति भएको हो।
प्रहरीका अनुसार मधेश, बागमती, गण्डकी, लुम्बिनी र कोशी प्रदेशमा सवारी दुर्घटनामा परी १/१ जनाको मृत्यु भएको छ। सुदूरपश्चिम, कर्णाली प्रदेश तथा काठमाडौँ उपत्यकामा भने उक्त अवधिमा दुर्घटनाका कारण मानवीय मृत्यु भएको छैन।
दुर्घटनामा घाइते हुनेको संख्या कोशी प्रदेशमा सबैभन्दा धेरै रहेको छ। कोशीमा २८ जना घाइते भएका छन्। मधेश प्रदेशमा २६ जना तथा काठमाडौँ उपत्यकामा २३ जना घाइते भएका छन्।
त्यस्तै, लुम्बिनी प्रदेशमा १८ जना, बागमती प्रदेशमा १३ जना, सुदूरपश्चिम प्रदेशमा ७ जना तथा कर्णाली र गण्डकी प्रदेशमा १/१ जना घाइते भएका छन्।











