भारतमा कमाइरहेका अछामका दुई दाजुभाइको अनुकरणीय काम, परिवारका ८ सदस्यको गराए बीमा

काठमाडौँ । वैदेशिक रोजगारीका लागि भारतमा रहेका अछामको तुर्माखाँद गाउँपालिका–४ का दुई दाजुभाइले आफ्नो परिवारको आर्थिक सुरक्षालाई प्राथमिकतामा राख्दै ८ जना परिवार सदस्यको जीवन बीमा गराएका छन् । रोजगारीका क्रममा विदेशमा रहेर मेहनत गरिरहेका नवराज बुढा र लोकेन्द्र बहादुर बुढाले परिवारको वर्तमान आवश्यकता पूरा गर्नेमात्र नभई भविष्यमा आइपर्न सक्ने आर्थिक जोखिमलाई समेत ध्यानमा राख्दै एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमार्फत परिवारका ८ सदस्यको जीवन बीमा गराएका हुन् ।
तुर्माखाँद गाउँपालिका–४ निवासी लालबहादुर बुढाका जेठा छोरा नवराज बुढा र माइला छोरा लोकेन्द्र बहादुर बुढा हाल रोजगारीको सिलसिलामा भारतमा छन् । ऊर्जावान, लगनशील र सहयोगी स्वभावका यी दुवै दाजुभाइ सामाजिक काममा समेत सक्रिय रहेको परिवार तथा स्थानीयस्तरमा चिनिन्छन् । रोजगारीका लागि घरदेखि टाढा भए पनि उनीहरूको सोच भने आफ्नो परिवार, समाज र भविष्यप्रतिको जिम्मेवारीसँग जोडिएको छ ।
भारतमा रहेर पसिना बगाइरहँदा उनीहरूको सोच केवल आजको आम्दानीमा सीमित रहेन । ‘भोलि परिवारलाई के हुन्छ ?’, ‘कुनै कठिन परिस्थिति आइपरे परिवारको आर्थिक अवस्था कसरी सुरक्षित राख्ने ?’ जस्ता प्रश्नलाई मनन गर्दै उनीहरूले परिवारका सदस्यको आर्थिक सुरक्षाका लागि जीवन बीमा रोजेका हुन् । कमाएको रकमलाई तत्कालको खर्चमा मात्र उपयोग नगरी भविष्यका सम्भावित जोखिमका लागि समेत व्यवस्थापन गर्नुपर्छ भन्ने सोचका साथ गरिएको यो निर्णयले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सकारात्मक उदाहरण प्रस्तुत गरेको छ ।
नवराज र लोकेन्द्रले आफ्ना बुबा, आमा, भाइ, श्रीमती तथा छोरासहित परिवारका ८ सदस्यलाई समेटेर कुल १८ लाख रुपैयाँ बराबरको बीमाङ्कको जीवन बीमा गराएका छन् । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हातिगौंडा काठमाडौँस्थित शाखा कार्यालयमार्फत ‘सुनौलो बाल भविष्य तथा पेन्सन योजना’ अन्तर्गत परिवारका सदस्यहरूको बीमा गरिएको हो । बीमा अभिकर्ताका रूपमा सिनियर एजेन्सी म्यानेजर दिपा कुमारी बि.सी.ले पहल गरेकी हुन् । शाखा कार्यालयका शाखा प्रबन्धक बिनोद कुमार श्रेष्ठ रहेका छन् ।
परिवारका सदस्यमध्ये लालबहादुर बुढा अर्थात् नवराज र लोकेन्द्रका बुबाको २ लाख रुपैयाँको बीमाङ्क रहेको छ भने आमा धौली बुढाको पनि २ लाख रुपैयाँको बीमाङ्क कायम गरिएको छ । नवराज बुढा र उनका छोरा दिपेश बुढालाई ‘सुनौलो बाल भविष्य’ योजनाअन्तर्गत ६ लाख रुपैयाँको बीमाङ्कमा समेटिएको छ । त्यसैगरी नवराजकी श्रीमती तुलसरा बुढाको १ लाख रुपैयाँको बीमाङ्क रहेको छ ।
लोकेन्द्र बुढा र किस्मत बुढालाई पनि ‘सुनौलो बाल भविष्य’ योजनाअन्तर्गत ६ लाख रुपैयाँको बीमाङ्कमा समेटिएको छ । परिवारका अर्का सदस्य बिस्नु बहादुर बुढाको १ लाख रुपैयाँको बीमाङ्क कायम गरिएको छ । यसरी परिवारका ८ सदस्यका लागि गरिएको बीमाको कुल बीमाङ्क १८ लाख रुपैयाँ पुगेको छ ।
नवराज र लोकेन्द्रको निर्णयले ‘आफू टाढा भए पनि परिवारको भविष्य नजिकैबाट सुरक्षित गरौँ’ भन्ने भावनालाई व्यवहारमा उतारेको देखिन्छ । विदेशमा बसेर कमाइरहेका दाजुभाइले आफ्नो आम्दानीको केही हिस्सा परिवारका सदस्यहरूको दीर्घकालीन सुरक्षाका लागि छुट्याएका छन् । यसले परिवारप्रतिको माया र जिम्मेवारी केवल भावनामा सीमित नभई व्यवहारिक आर्थिक योजनामा पनि परिणत हुन सक्छ भन्ने देखाएको छ ।
सम्पादन









