आज संसदका नौ समितिमा बैठक, विधेयकदेखि सुशासनसम्मका विषयमा छलफल

काठमाडौँ । संघीय संसद् मातहतका नौ वटा संसदीय समितिको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक भदौ ८ गतेका लागि तय भएको तथा राष्ट्रियसभाको बैठक शुक्रबार बस्ने भएपछि आज एकै दिन धेरै समितिका बैठक बस्न लागेका हुन् ।
अर्थसमितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा ‘नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’ माथि दफावार छलफललाई निरन्तरता दिइनेछ । छलफलका लागि अर्थमन्त्री र अर्थसचिवलाई समेत आमन्त्रण गरिएको छ ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक पनि बिहान ११ बजे नै बस्नेछ । बैठकमा ‘पर्यटन विधेयक, २०८१’ का सम्बन्धमा होटल एसोसिएसन नेपाललगायत सम्बन्धित सरोकारवाला निकायसँग छलफल गरिनेछ ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान १० बजे बस्नेछ । बैठकमा समितिमा प्राप्त उजुरीका विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।
कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा नेपालमा जैविक तथा प्राङ्गारिक मलको उत्पादन, भण्डारण र बिक्री वितरणको अवस्था सुधार गर्ने विषयमा उत्पादकहरूसँग छलफल हुनेछ । रासायनिक मलको प्रयोग क्रमशः घटाउँदै कृषि उत्पादनमा असर नपर्ने व्यवस्था कसरी गर्न सकिन्छ भन्ने विषयमा समेत छलफल गरिनेछ । बैठक बिहान १० बजे बस्नेछ ।
पूर्वाधार विकास समितिको बैठकमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिअन्तर्गत सञ्चालित बागमती ब्युटिफिकेसन आयोजनाका विषयमा छलफल गरिनेछ । उक्त बैठक पनि बिहान १० बजेका लागि बोलाइएको छ ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कामकारबाहीलगायत विषयमा आयोगका पदाधिकारीसँग छलफल गरिनेछ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान १० बजे बस्नेछ । बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ का सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।
सार्वजनिक लेखा समितिको बैठक पनि बिहान १० बजे बस्नेछ । बैठकमा नेपाललाई प्राप्त हुने वैदेशिक सहायताको लेखापरीक्षणका सम्बन्धमा छलफल गरिनेछ ।
त्यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक अपराह्न १ बजे बस्नेछ । बैठकमा विधायिकी अन्तरसम्बन्धका विषयमा गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका अध्यक्ष र कार्यकारी निर्देशकसँग छलफल गरिने कार्यक्रम रहेको छ ।











