एसियन स्मार्ट एग्रो कम्पनीमा रोजगारीको अवसर

काठमाडौँ । एसियन स्मार्ट एग्रो कम्पनी लिमिटेडले ललितपुरको इमाडोलमा सञ्चालनमा रहेको कृषि बजारका लागि बजार व्यवस्थापक नियुक्त गर्न आवेदन खुलाएको छ ।
कम्पनीले भदौ ४ गते सार्वजनिक गरेको सूचनामार्फत एक जना बजार व्यवस्थापक आवश्यक रहेको जनाएको हो । उक्त पदमा कृषि बजार, तरकारी बजार वा व्यापारिक क्षेत्रमा काम गरेको अनुभव भएका १८ वर्ष पूरा भई ४५ वर्ष नकटेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।
काठमाडौं उपत्यकाभित्रका कृषि बजारको सञ्चालन तथा व्यवस्थापनमा अनुभव भएका उम्मेदवारलाई कम्पनीले प्राथमिकता दिने जनाएको छ ।
नियुक्त हुने कर्मचारीले बजारका स्टल भाडामा लगाउनेदेखि दैनिक सञ्चालनको जिम्मेवारी सम्हाल्नुपर्नेछ । त्यस्तै, थोक तथा खुद्रा कारोबारको व्यवस्थापन गर्नुका साथै कृषक, उत्पादक र स्थानीय तहसँग आवश्यक समन्वय गर्नुपर्नेछ ।
बजार व्यवस्थापकको सेवा तथा सुविधा कम्पनीको प्रचलित नियमअनुसार निर्धारण हुने बताइएको छ । उम्मेदवार छनोट अन्तर्वार्ताका आधारमा गरिनेछ ।
आवेदन दिन इच्छुकले सूचना जारी भएको १५ दिनभित्र बायोडाटा, पछिल्लो फोटो, नेपाली नागरिकताको प्रतिलिपि तथा शैक्षिक योग्यताको प्रमाणपत्रसहित आवेदन बुझाउनुपर्नेछ ।
आवेदन इमेलमार्फत पठाउन सकिने व्यवस्था गरिएको छ । त्यसका लागि [email protected] वा [email protected] मा आवश्यक कागजात पठाउन सकिनेछ । इच्छुकले इमाडोलस्थित कृषि बजारमै उपस्थित भएर पनि आवेदन बुझाउन सक्नेछन् ।











