ऋण नतिरेपछि रुप ज्योतिको ५८ करोडको जग्गा लिलामीमा

४ भाद्र २०८३, बिहीबार ११:१९

ठमाडौं । पूर्व अर्थ सहायक मन्त्री तथा व्यवसायी रुप ज्योतिको धितोमा रहेको वीरगञ्जस्थित जग्गा ऋण असुलीका लागि लिलाम हुने भएको छ । राष्ट्रिय वाणिज्य बैंकले उक्त सम्पत्ति बिक्री गर्न सिलबन्दी बोलपत्र आह्वान गरेको छ ।

बैंकका अनुसार पर्साको वीरगञ्जस्थित चोर्नीमा रहेको कित्ता नम्बर १३ र १५ को जग्गा लिलामीमा राखिएको हो । दुवै जग्गाको क्षेत्रफल क्रमशः ३३ हजार १७५ वर्गमिटर र २८ हजार ९५ वर्गमिटर रहेको छ । बैंकले सम्पत्तिको न्यूनतम लिलाम मूल्य ५७ करोड ९७ लाख २१ हजार रुपैयाँ निर्धारण गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंकको मुख्य शाखा कार्यालयअन्तर्गत ऋणी कम्पनी एनजिएम इन्जिनियरिङ्ग एण्ड सेल्स प्रालिले विभिन्न शीर्षकमा लिएको कर्जा निर्धारित समयमा भुक्तानी नगरेपछि धितो बिक्रीको प्रक्रिया अघि बढाइएको हो । बैंकले कर्जा असुलीका लागि पटक–पटक मौखिक तथा लिखित रूपमा ताकेता गरे पनि रकम चुक्ता नभएको जनाएको छ ।

कम्पनीका संस्थापक सेयरधनीमा व्यवसायी डा. रुप ज्योति, अभिक ज्योति, सुरुची ज्योति तथा उपष्ठान एण्ड कम्पनी प्रालि रहेका छन् ।

बैंकले ऋणीलाई कर्जा चुक्ता गर्न ३५ दिनको समय दिएको छ । उक्त अवधिमा सावाँ तथा ब्याजसहितको दायित्व फर्छ्योट नभए ३६औँ दिनदेखि ५०औँ दिनसम्म इच्छुक व्यक्ति तथा संस्थाबाट सिलबन्दी बोलपत्रमार्फत धितो बिक्री गरिनेछ । प्राप्त बोलपत्र ५१औँ दिनमा खोलिने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*