लघुवित्तमा चम्कियो ब्याज आम्दानी, वर्षदिनमा ५० संस्थाले कमाए ३७ अर्ब (तथ्याङ्कसहित)

काठमाडौँ । लघुवित्त वित्तीय संस्थाहरूको खुद ब्याज आम्दानीमा उल्लेख्य सुधार देखिएको छ । चालु आर्थिक वर्ष २०८२/८३ मा नेपाल स्टक एक्सचेन्जमा सूचीकृत ५० लघुवित्त वित्तीय संस्थाले कुल ३६ अर्ब ९४ करोड ९३ लाख ८९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् । यो रकम अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा १६ दशमलव ०१ प्रतिशतले बढी हो ।
अघिल्लो आर्थिक वर्षमा ५० लघुवित्तको कुल खुद ब्याज आम्दानी ३१ अर्ब ८४ करोड ९६ लाख ८७ हजार रुपैयाँ रहेको थियो । एक वर्षको अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५ अर्ब ९९ करोड ९७ लाख २ हजार रुपैयाँले बढेको देखिन्छ ।
खुद ब्याज आम्दानीसँगै लघुवित्तको खुद नाफामा पनि ठूलो सुधार आएको छ । अघिल्लो आर्थिक वर्षमा ५० लघुवित्तको कुल खुद नाफा ४ अर्ब ७५ करोड ६ लाख ७३ हजार रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षमा बढेर १२ अर्ब २ करोड ४३ लाख ९ हजार रुपैयाँ पुगेको छ । यसरी एक वर्षमै लघुवित्त क्षेत्रको कुल खुद नाफा ७ अर्ब २७ करोड ३६ लाख ३६ हजार रुपैयाँले बढेको छ ।
खुद ब्याज आम्दानीका आधारमा छिमेक लघुवित्त सबैभन्दा अगाडि रहेको छ । कम्पनीले चालु आर्थिक वर्षमा ३ अर्ब ८४ लाख १९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष २ अर्ब ८१ करोड ९४ लाख ६६ हजार रुपैयाँ रहेको कम्पनीको आम्दानी ६ दशमलव ७० प्रतिशतले बढेको हो ।
दोस्रो स्थानमा रहेको जीवन विकास लघुवित्तले २ अर्ब ३५ करोड ८ लाख ३३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष २ अर्ब १० करोड १५ लाख ५२ हजार रुपैयाँ रहेको कम्पनीको आम्दानी ११ दशमलव ८६ प्रतिशतले बढेको हो ।
त्यस्तै, डिप्रोक्स लघुवित्तको खुद ब्याज आम्दानी १५ दशमलव ४६ प्रतिशतले बढेर २ अर्ब १८ करोड ५६ लाख ७६ हजार, स्वाबलम्बन लघुवित्तको खुद ब्याज आम्दानी १२ दशमलव ९९ प्रतिशतले बढेर २ अर्ब ७ करोड १२ लाख ६ हजार, नेशनल लघुवित्तको खुद ब्याज आम्दानी १९ दशमलव ६७ प्रतिशतले बढेर २ अर्ब ६ करोड ४२ लाख ९५ हजार रुपैयाँ पुगेको छ ।
यद्यपि केही लघुवित्तको खुद ब्याज आम्दानीमा भने गिरावट आएको छ । निर्धन उत्थान लघुवित्तको आम्दानी १ दशमलव १० प्रतिशतले घटेर १ अर्ब ८८ करोड ४५ लाख ८६ हजार रुपैयाँमा सीमित भएको छ ।
फरवार्ड माइक्रोफाइनान्सको खुद ब्याज आम्दानी ८ दशमलव २३ प्रतिशतले बढेर १ अर्ब ५१ करोड ७७ लाख २५ हजार, एनआइसी एसिया लघुवित्तको ८६ दशमलव ४९ प्रतिशतले बढेर १ अर्ब ४० करोड २२ लाख ९० हजार, ग्रामिण विकास लघुवित्तको ५८ दशमलव १७ प्रतिशतले बढेर १ अर्ब ३८ करोड ३५ लाख ६५ हजार, नेरुडे मिर्मिरे लघुवित्तको भने १० दशमलव ६६ प्रतिशतले घटेर १ अर्ब २९ करोड ४३ लाख ६२ हजार रुपैयाँमा झरेको छ ।

साना किसान विकास लघुवित्तको खुद ब्याज आम्दानी २९ दशमलव ०८ प्रतिशतले घटेर १ अर्ब २७ करोड ३९ लाख ७० हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष कम्पनीको आम्दानी १ अर्ब ७९ करोड ६३ लाख ७४ हजार रुपैयाँ थियो ।
मेरो माइक्रोफाइनान्सको खुद ब्याज आम्दानी २६ दशमलव ९८ प्रतिशतले बढेर १ अर्ब २० करोड ४३ लाख ३१ हजार, सूर्योदय वोमी लघुवित्तले १ अर्ब १ करोड ११ लाख ८१ हजार रुपैयाँ, ग्लोबल आइएमई लघुवित्तको ३४ दशमलव १३ प्रतिशतले बढेर १ अर्ब ७४ लाख २७ हजार, आशा लघुवित्तको १७ दशमलव ३० प्रतिशतले बढेर ८८ करोड ४५ लाख ४ हजार, सम्पदा लघुवित्तको ३७ दशमलव ६५ प्रतिशतले बढेर ८४ करोड ७ लाख ९८ हजार, स्वरोजगार लघुवित्तको २४ दशमलव ५० प्रतिशतले बढेर ७५ करोड ८६ लाख ९८ हजार रुपैयाँ पुगेको छ ।
सबैभन्दा कम धौलागिरी लघुवित्तको आम्दानी १ दशमलव ८४ प्रतिशतले घटेर १५ करोड १२ लाख ७९ हजार, मानुषी लघुवित्तको १० दशमलव ८६ प्रतिशतले बढेर १० करोड ५० लाख ६४ हजार, वीन नेपाल लघुवित्तको आम्दानी ५ दशमलव १८ प्रतिशतले बढेर ६ करोड ४१ लाख ४३ हजार रुपैयाँ पुगेको छ ।
कम खुद ब्याज आम्दानी गर्ने स्वस्तिक लघुवित्तको आम्दानी भने ७५ दशमलव ४१ प्रतिशतले बढेको छ । कम्पनीले चालु आर्थिक वर्षमा ५ करोड २५ लाख ८७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यो रकम २ करोड ९९ लाख ८० हजार रुपैयाँ रहेको थियो ।
माइक्रोफाइनान्सको वित्तीय विवरणमा चमक: ५० लघुवित्तको नाफा १२ अर्ब, खराब कर्जा कति ? (तथ्याङ्कसहित)









