अर्थ मन्त्रालयका दुई सहसचिवले दिए राजीनामा

२० आश्विन २०८३, मंगलवार १०:३७

काठमाडौं । अर्थ मन्त्रालयअन्तर्गत कार्यरत दुई सहसचिवले अनिवार्य अवकाशको समय नजिकिँदै गर्दा पदबाट राजीनामा दिएका छन्।

राजेन्द्रदेव पाण्डे र पदमकुमार श्रेष्ठले मंगलबार अर्थ सचिवसमक्ष राजीनामा बुझाएका हुन्। दुवै जना ५८ वर्षे उमेर हदका कारण चालु आर्थिक वर्षभित्रै सरकारी सेवाबाट अवकाश पाउने तयारीमा थिए।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको नेतृत्व सम्हालिरहेका पाण्डे आगामी फागुन १० गते ५८ वर्ष पुग्दै थिए। उमेर हद पूरा हुन केही समय बाँकी रहेकै अवस्थामा उनले राजीनामा दिएका हुन्।

पाण्डे यसअघि नेपाल ट्रस्टको कार्यालयमा कार्यरत थिए। त्यसपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा काम गरेका उनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा पुगेका थिए। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका तत्कालीन प्रमुख गोपीकृष्ण कोइरालाले राजीनामा दिएपछि पाण्डेलाई कार्यालय प्रमुखको जिम्मेवारी दिइएको थियो। तर, उनले उक्त जिम्मेवारी लामो समय सम्हाल्न पाएनन्।

यस्तै, आन्तरिक राजस्व विभागका उपमहानिर्देशक पदमकुमार श्रेष्ठले पनि अवकाशको केही समयअघि नै राजीनामा दिएका छन्। श्रेष्ठ आगामी जेठ १४ गते ५८ वर्ष पूरा गर्दै थिए। लामो समयदेखि आन्तरिक राजस्व विभागमा कार्यरत उनले उमेर हदबाट अवकाश पाउनुअघि नै सेवाबाट अलग हुने निर्णय गरेका हुन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*