सिराहामा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको बीमा सचेतना कार्यक्रम सम्पन्न

२५ आश्विन २०८३, आईतवार ०८:४९

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको आयोजनामा असोज २३ गते शुक्रबार सिराहाको गोलबजारमा बीमा सचेतना कार्यक्रम सम्पन्न भएको छ।

कम्पनीका मधेस प्रदेश प्रमुख बद्री बहादुर अधिकारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा गोलबजार नगरपालिकाका प्रमुख श्याम कुमार श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रममा नेपाल बीमा प्राधिकरण, मधेस प्रदेश कार्यालयकी प्रमुख आर्य रावल, गोलबजार नगरपालिका वडा नं. ६ का वडाध्यक्ष संजित कुमार लामा तथा गोलबजार उद्योग वाणिज्य संघका अध्यक्ष विजय साहको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा स्थानीय उद्योगी, व्यवसायी, जनप्रतिनिधि, बैंक तथा वित्तीय संस्थाका प्रमुख एवं प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा बीमाको महत्व, आवश्यकता तथा फाइदा, बीमा गर्ने प्रक्रिया र बीमा दाबी प्रक्रियाका विषयमा सहभागीहरूलाई जानकारी गराइएको थियो। साथै, आर्थिक जोखिमबाट सुरक्षित रहन र सम्भावित क्षतिको आर्थिक भार न्यूनीकरण गर्न बीमाको पहुँच विस्तार गर्नुपर्ने विषयमा जोड दिइएको थियो।

कार्यक्रमका प्रमुख अतिथि श्याम कुमार श्रेष्ठले बीमालाई अनिवार्य प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै दुःख तथा विपद्को समयमा बीमाले आर्थिक सुरक्षा प्रदान गर्ने बताए। साथै, बीमासम्बन्धी जनचेतना अभिवृद्धि गर्दै आम नागरिकलाई बीमाको दायरामा ल्याउन सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे।

नेपाल बीमा प्राधिकरण, मधेस प्रदेश कार्यालयकी प्रमुख आर्य रावलले बीमा क्षेत्रको नियमन तथा व्यवस्थापन नेपाल बीमा प्राधिकरणले गर्ने जानकारी गराउँदै बीमासम्बन्धी कुनै गुनासो वा समस्या भएमा प्राधिकरणलाई जानकारी गराउन आग्रह गरिन्।

कार्यक्रममा सहभागीहरूले सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडबाट आफूहरूले दाबी भुक्तानीको समयमा सहज र झन्झटरहित सेवा प्राप्त गरेको अनुभवसमेत सुनाएका थिए। कार्यक्रमको स्वागत मन्तव्य तथा सञ्चालन गोलबजार शाखा प्रमुख विद्यानन्द सिंहले गरेका थिए।

बीमासम्बन्धी जनचेतना अभिवृद्धि, आर्थिक जोखिम न्यूनीकरण तथा बीमाप्रतिको विश्वास अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रम प्रभावकारी रूपमा सम्पन्न भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*