नेरुडे मिर्मिरे लघुवित्तको नाफा २ करोड ७९ लाख ऋणात्मक, अधिकांश सूचकमा धक्का, एनपिएल २१.७३% पुग्यो

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको वित्तीय अवस्थामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा दबाब देखिएको छ। संस्थाले अघिल्लो वर्षको सोही अवधिमा नाफा कमाएकोमा यस वर्ष घाटा व्यहोरेको छ। त्यस्तै, खराब कर्जाको अनुपात बढेर २१ प्रतिशतभन्दा माथि पुगेको छ।
संस्थाले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा २ करोड ७९ लाख ९९ हजार रुपैयाँ खुद घाटा भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले ५ करोड ५३ लाख ६८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यसरी एक वर्षमै संस्थाको वित्तीय नतिजा ८ करोड ३३ लाख ६७ हजार रुपैयाँले खस्किएको छ।
संस्थाको आम्दानी घट्नुमा खुद ब्याज आम्दानीमा आएको गिरावट प्रमुख कारण देखिएको छ। समीक्षा अवधिमा संस्थाले ६० करोड ५ लाख ९० हजार रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी ७१ करोड ५० लाख १८ हजार रुपैयाँ थियो। यस अवधिमा ब्याज खर्च ३१ करोड १६ लाख ४८ हजार रुपैयाँ रहेपछि खुद ब्याज आम्दानी २८ करोड ८९ लाख ४२ हजार रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ४० करोड ३२ लाख ९७ हजार रुपैयाँ थियो। यसअनुसार खुद ब्याज आम्दानी करिब २८ प्रतिशतले घटेको छ।
फी तथा कमिसनबाट हुने आम्दानीमा भने सुधार देखिएको छ। संस्थाले समीक्षा अवधिमा खुद फी तथा कमिसनबाट ४ करोड ४५ लाख ६६ हजार रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी ३ करोड ७६ लाख ८८ हजार रुपैयाँ थियो। तर, ब्याज आम्दानीमा आएको गिरावटलाई अन्य आम्दानीको वृद्धिले पूर्ति गर्न नसक्दा संस्थाको कुल सञ्चालन आम्दानी ४४ करोड ९ लाख ८२ हजार रुपैयाँबाट घटेर ३३ करोड ३५ लाख ९ हजार रुपैयाँमा झरेको छ।
कर्जा तथा अन्य सम्पत्तिमा सम्भावित नोक्सानी व्यवस्थापनका लागि संस्थाले १० करोड २७ लाख ४१ हजार रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको छ। यसपछि खुद सञ्चालन आम्दानी २३ करोड ७ लाख ६८ हजार रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी ३५ करोड २६ लाख १९ हजार रुपैयाँ थियो।
समीक्षा अवधिमा संस्थाको कर्मचारी खर्च २० करोड ७८ लाख ५२ हजार रुपैयाँ पुगेको छ भने अन्य सञ्चालन खर्च ५ करोड १४ लाख ३७ हजार रुपैयाँ रहेको छ। त्यस्तै, मूल्यह्रास तथा परिशोधन खर्च २ करोड २० लाख ६५ हजार रुपैयाँ छ। आम्दानीको तुलनामा खर्च उच्च भएपछि संस्था ३ करोड ७ लाख २७ हजार रुपैयाँ सञ्चालन घाटामा गएको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा भने संस्थाले ७ करोड ६० लाख ४१ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो।
संस्थाको कर्जा गुणस्तरमा पनि उल्लेख्य दबाब देखिएको छ। कुल कर्जामा निष्क्रिय कर्जा अर्थात् एनपीएलको अनुपात २१.७३ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १५.७० प्रतिशत थियो। एक वर्षमै खराब कर्जाको अनुपात ६.०३ प्रतिशत बिन्दुले बढेको हो।
संस्थाको कुल कर्जाको तुलनामा निक्षेप तथा अन्य स्रोतको अवस्थासम्बन्धी सूचकमा पनि परिवर्तन देखिएको छ। कुल कर्जा तथा कुल निक्षेपको अनुपात ३९.७२ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्ष ३१.६० प्रतिशत थियो। त्यस्तै, कर्जाको लागत ६.८९ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यस्तो लागत ६.५५ प्रतिशत थियो।
घाटामा गएसँगै संस्थाको प्रतिसेयर आम्दानी पनि ऋणात्मक बनेको छ। पहिलो त्रैमाससम्मको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी ८ रुपैयाँ १ पैसा ऋणात्मक छ। अघिल्लो वर्षको सोही अवधिमा प्रतिसेयर आम्दानी १५ रुपैयाँ ८४ पैसा धनात्मक थियो। असोज मसान्तसम्म संस्थाको प्रतिसेयर नेटवर्थ १८४ रुपैयाँ ४० पैसा रहेको छ भने अघिल्लो वर्ष यस्तो नेटवर्थ १८६ रुपैयाँ ५९ पैसा थियो।
संस्थाको वितरणयोग्य नाफा पनि ऋणात्मक रहेको छ। वित्तीय विवरणअनुसार वितरणयोग्य नाफा १५ करोड ८१ लाख १८ हजार रुपैयाँ ऋणात्मक छ। त्यस्तै, वार्षिकीकरण गरिएको वितरणयोग्य नाफा प्रतिसेयर ४५ रुपैयाँ २५ पैसा ऋणात्मक देखिएको छ।











