महँगो एप्पल आईफोनमै स्क्रिनको समस्या, प्रयोग गरेको केही समयमै चर्किने गुनासो

काठमाडौं । एप्पलको पहिलो फोल्ड गर्न मिल्ने स्मार्टफोन ‘आईफोन डुओ’ को भित्री डिस्प्लेमा समस्या देखिएको छ। फोनको बीचमा मोडिने भागमा स्क्रिन चर्किने र फुट्ने गुनासो बढेपछि कम्पनीले पनि केही सीमित उपकरणमा समस्या रहेको स्वीकार गरेको बताइएको छ।
महँगो मूल्यमा बजारमा आएको यो फोन छोटो समय प्रयोग गरेपछि नै बिग्रिएको प्रयोगकर्ताहरूको दाबी छ। विशेषगरी फोन खोल्ने र बन्द गर्ने क्रममा मोडिने भागको डिस्प्लेमा क्षति पुग्ने समस्या देखिएको उनीहरूले बताएका छन्।
उक्त स्मार्टफोनको मूल्य करिब ३ लाखदेखि साढे ४ लाख रुपैयाँसम्म पर्ने बताइएको छ। यति महँगो फोनमा समेत स्क्रिनसम्बन्धी समस्या देखिएपछि यसको गुणस्तरबारे प्रश्न उठ्न थालेको छ।
समस्या देखिएका फोनको सट्टा नयाँ उपकरण उपलब्ध गराउने कम्पनीले जनाएको छ। आफ्नो फोनको डिस्प्लेमा खराबी देखिएमा ग्राहकलाई एप्पलकेयरमा सम्पर्क गर्न आग्रह गरिएको छ।
आईफोन डुओमा बाहिरी भागमा ५.४ इन्च र भित्री भागमा ७.६ इन्चको डिस्प्ले रहेको विवरणमा उल्लेख छ। यसको सुरुआती मूल्य १ हजार ९९९ अमेरिकी डलर र उच्च संस्करणको मूल्य ३ हजार १९९ अमेरिकी डलर रहेको बताइएको छ।











