अर्नव चक्रवातको प्रभावले ४ दिन भारी वर्षाको जोखिम, डोटी प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । बंगालको खाडीमा विकसित ‘अर्नव’ चक्रवात र पश्चिमी वायुको प्रभावले मौसम प्रतिकूल बन्न सक्ने भन्दै डोटी जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय डोटीले कात्तिक १० गते सूचना जारी गर्दै कात्तिक ११ गते बुधबारदेखि १४ गते शनिबारसम्म सम्भावित वर्षा, चट्याङ, बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गरी सावधानी अपनाउन अनुरोध गरेको हो।
नेपाल मौसम विज्ञान विभागको विशेष बुलेटिनलाई उद्धृत गर्दै कार्यालयले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने जनाएको छ। केही स्थानमा भारी वर्षा र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना पनि रहेको सूचनामा उल्लेख छ।
सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरण गर्न प्रशासनले धान काट्ने तथा भित्र्याउनेलगायत कृषि कार्य बुधबारअघि नै सुरक्षित रूपमा सम्पन्न गर्न आग्रह गरेको छ। विशेषगरी सेती नदी तथा स्थानीय खोलानजिक बसोबास गर्ने नागरिकलाई जलसतह बढ्न सक्ने जोखिमप्रति सचेत रहन र नदी किनारमा नजान भनिएको छ।
वर्षाका कारण पहिरो खस्दा केआई सिंह, पहलमान सिंह स्वार सडकखण्डसहित ग्रामीण क्षेत्रका कच्ची सडकमा यातायात अवरुद्ध हुन सक्ने भएकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न प्रशासनले अनुरोध गरेको छ। यात्रा गर्नैपर्ने अवस्थामा मौसमको अवस्था बुझेर मात्र आवतजावत गर्न भनिएको छ।
त्यस्तै, बाढी, पहिरो वा डुबानको जोखिम देखिएमा समयमै सुरक्षित स्थानमा जान र स्थानीय तह तथा सुरक्षा निकायसँग सम्पर्कमा रहन आग्रह गरिएको छ। जिल्लाका सबै स्थानीय तहलाई वडा तहसम्म सूचना प्रवाह गर्न तथा सुरक्षा निकाय र विपद्सम्बन्धी सरकारी कार्यालयलाई पूर्वतयारी अवस्थामा रहन पनि प्रशासनले अनुरोध गरेको छ।
विपद्जन्य घटना वा दुर्घटना भएमा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र (डीईओसी), स्थानीय प्रहरी वा नजिकको सुरक्षा निकायमा तत्काल जानकारी गराउन सूचनामा उल्लेख छ।
आपत्कालीन सम्पर्कका लागि नेपाल प्रहरीको १००, सशस्त्र प्रहरी बलको १११४ तथा जिल्ला प्रहरी कार्यालय डोटीका ९८५८४३५५५५ र ९८५८४४०४४७ नम्बर सार्वजनिक गरिएको छ।











