तिहार अघिको शेयर बजार: साताभर लगानीकर्तामा अन्योल, अन्तिम कारोबार दिन सामान्य सुधार

२० कार्तिक २०८३, शुक्रबार १५:०४

काठमाडौं । तिहारअघि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा भएको साताभरको कारोबारलाई हेर्दा शेयर बजारले स्पष्ट दिशा समात्न सकेको देखिएको छैन । साताको सुरुवातमा उल्लेख्य अंकले घटेको बजार त्यसपछिका कारोबार दिनमा कहिले सामान्य बढ्ने त कहिले पुनः घट्ने प्रवृत्तिमा देखिएको हो । तिहारअघिको अन्तिम कारोबार दिन शुक्रबार भने बजारमा सामान्य सुधार देखिएको छ । यद्यपि साताभरको समग्र बजार प्रवृत्तिले लगानीकर्तामा उत्साहभन्दा बढी अन्योल र प्रतीक्षाको अवस्था सिर्जना गरेको छ ।

साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक ३२.६५ अंकले घटेर २ हजार ६५७.५० विन्दुमा झरेको थियो । बजारमा एकैदिन आएको उक्त गिरावटले अघिल्लो साताको अन्त्यतिर देखिएको सकारात्मक लयलाई कमजोर बनाएको थियो । त्यसपछि मंगलबार बजारले केही सम्हालिने प्रयास गर्दै ६.६२ अंकको सुधार गरेको थियो । बुधबार पनि बजार सामान्य अंकले सकारात्मक रहँदै १.४० अंकले बढेको थियो । तर लगातार दुई दिनको सामान्य सुधारले बजारमा सकारात्मक माहोल निर्माण गर्न नसक्दा बिहीबार पुनः नेप्से १२.९५ अंकले घटेर २ हजार ६५२.५८ विन्दुमा पुगेको थियो । शुक्रबार भने सामान्य अंकको वृद्धिसँगै बजारले साताको अन्तिम कारोबार टुंग्याएको छ ।

परिसूचकमा ठूलो सुधार हुन नसक्नु र सामान्य सकारात्मक कारोबारपछि पुनः बिक्री चाप देखिनुले लगानीकर्ताहरू अझै पनि बजारको आगामी दिशाप्रति विश्वस्त हुन सकेका छैनन् । विशेषगरी साताको पहिलो दिनको तीव्र गिरावटपछि बजारले पुनरागमनको प्रयास गरे पनि त्यसले निरन्तरता भने पाउन सकेको छैन ।

कारोबार रकमका हिसाबले पनि साताभर बजारमा एकरूपता देखिएको छैन । साताको पहिलो दिन ७ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएकोमा मंगलबार कारोबार रकम घटेर करिब ५ अर्ब ६१ करोड रुपैयाँमा सीमित भएको थियो । बुधबार पुनः कारोबार रकम बढेर ७ अर्ब ३८ करोड रुपैयाँभन्दा माथि पुगे पनि बिहीबार भने घटेर ४ अर्ब ६९ करोड रुपैयाँको हाराहारीमा झरेको थियो ।

आज शुक्रबार नेप्से परिसूचक २.६४ अंकले बढेर २६५५.२२ को विन्दुमा कायम हुन पुगेको छ । यसदिन ३३६ सूचीकृत कम्पनीहरुको ३ अर्ब ४६ करोड २० लाख ५९ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । यसदिन १०७ वटा कम्पनीहरुको शेयरमूल्य घट्दा १५८ कम्पनीहरुको शेयरमूल्य भने बढेको छ । त्यस्तै आज १२ वटै उपसूचकमा हरियाली छाएको छ भने अदर्स इन्डेक्स मात्रै ०.८८ प्रतिशतले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*