घाटाबाट नाफामा फर्कियो मातृभूमि लघुवित्त, पहिलो त्रैमासमै कमायो ४ करोड ५७ लाख

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड ५७ लाख ७ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा १ करोड ९७ लाख ७ हजार रुपैयाँ घाटामा रहेकोमा यस वर्ष उल्लेख्य वित्तीय सुधार गर्दै नाफामा फर्किएको हो।
असोज मसान्तसम्म खुद ब्याज आम्दानी १६ करोड ५५ हजार रुपैयाँ पुगेको छ। यो गत वर्षको सोही अवधिमा रहेको १० करोड ५९ लाख ११ हजार रुपैयाँको तुलनामा ५१.१२ प्रतिशत बढी हो। यस अवधिमा कुल ब्याज आम्दानी ३० करोड ४८ लाख रुपैयाँबाट बढेर ३३ करोड ८७ लाख रुपैयाँ पुगेको छ भने ब्याज खर्च १९ करोड ८९ लाख रुपैयाँबाट घटेर १७ करोड ८७ लाख रुपैयाँमा सीमित भएको छ।
आम्दानीमा भएको सुधारसँगै सञ्चालन नाफा पनि सकारात्मक बनेको छ। गत वर्ष पहिलो त्रैमासमा १ करोड ९७ लाख रुपैयाँ सञ्चालन घाटा व्यहोरेकोमा यस वर्ष ६ करोड ३९ लाख ३३ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ। त्यस्तै कुल सञ्चालन आम्दानी गत वर्षको १२ करोड ९४ लाख ९७ हजार रुपैयाँबाट बढेर २० करोड ६८ लाख ४८ हजार रुपैयाँ पुगेको छ।
प्रतिशेयर आम्दानी (ईपीएस) पनि ऋणात्मक अवस्थाबाट धनात्मक बनेको छ। गत वर्ष असोज मसान्तमा १२ रुपैयाँ ५५ पैसा ऋणात्मक रहेको ईपीएस यस वर्ष बढेर २९ रुपैयाँ १० पैसा पुगेको छ। त्यसैगरी कोषको लागत ७.७० प्रतिशतबाट घटेर ६.७० प्रतिशत र आधार दर १२.५७ प्रतिशतबाट घटेर १२.१३ प्रतिशत कायम भएको छ।
यद्यपि निष्क्रिय कर्जा अनुपात भने उल्लेख्य बढेको छ। गत वर्ष १०.०३ प्रतिशत रहेको खराब कर्जा यस वर्षको पहिलो त्रैमासमा बढेर २७.०२ प्रतिशत पुगेको छ। निष्क्रिय कर्जा अनुपातमा देखिएको यो उच्च वृद्धिले कर्जा असुली र जोखिम व्यवस्थापनलाई आगामी दिनमा थप चुनौतीपूर्ण बनाएको छ।
असोज मसान्तसम्म चुक्ता पुँजी ६२ करोड ८३ लाख ५७ हजार रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ ७० पैसा छ भने कुल सम्पत्ति १२ अर्ब ६ करोड रुपैयाँ पुगेको छ। यस अवधिमा ग्राहकबाट ४ अर्ब ७६ करोड १९ लाख रुपैयाँ निक्षेप तथा बचत संकलन गरी १० अर्ब ८६ करोड ८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।











