राष्ट्रिय जीवन बीमा कम्पनी ६५ लाख घाटामा, अन्य वित्तीय सूचक कस्ता?

२९ कार्तिक २०८३, आईतवार ०७:५२

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ६५ लाख ४४ हजार रुपैयाँ खुद घाटामा गएको छ। कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिमा १२ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनी यस वर्ष घाटामा पुगेको हो।

कम्पनीको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको खुद बीमाशुल्क आर्जन भने बढेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीले ४ अर्ब ८१ करोड ९० लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो रकम ४ अर्ब ५० करोड ४६ लाख रुपैयाँ रहेको थियो। यस आधारमा कम्पनीको खुद बीमाशुल्क ६.९८ प्रतिशतले बढेको देखिन्छ।

कम्पनीको कुल आम्दानी भने गत वर्षको तुलनामा घटेको छ। समीक्षा अवधिमा कम्पनीले ५ अर्ब ४५ करोड ८९ लाख रुपैयाँ कुल आम्दानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको कुल आम्दानी ५ अर्ब ६२ करोड ५५ लाख रुपैयाँ थियो। यसरी कुल आम्दानी २.९६ प्रतिशतले घटेको छ।

यता कम्पनीको कुल खर्च बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ५ अर्ब ४० करोड ५४ लाख रुपैयाँ खर्च गरेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा ५ अर्ब ४६ करोड ५५ लाख रुपैयाँ खर्च गरेको छ। खर्च बढ्नु र कुल आम्दानी घट्नुले कम्पनीको नाफामा दबाब परेको देखिन्छ।

कम्पनीले लगानी तथा कर्जाबाट ५९ करोड आम्दानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी १ अर्ब ५ करोड ३३ लाख रुपैयाँ थियो। यसले लगानी तथा कर्जाबाट हुने आम्दानीमा उल्लेख्य कमी आएको देखाउँछ। यता प्रतिशेयर आम्दानी २.६८ रुपैयाँबाट घटेर ३.६२ रुपैयाँ ऋणात्मक भएको छ।

कम्पनीको चुक्ता पुँजी १८ करोड १० लाख रुपैयाँ रहेको छ। तर सञ्चित नोक्सानी बढेर ४ अर्ब ५३ करोड ३३ लाख रुपैयाँ पुगेको छ। यसअघि सञ्चित नोक्सानी ३ अर्ब ६८ करोड ८१ लाख रुपैयाँ थियो। फलस्वरूप कम्पनीको कुल इक्विटी ४ अर्ब ३१ करोड २२ लाख रुपैयाँले ऋणात्मक रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*