प्रथम त्रैमासमा मेटलाइफले कमायो ५ करोड २३ लाख नाफा, जीवन बीमाकोष ३४ अर्बमाथि

काठमाडौं । मेटलाइफ नेपालले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ५ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो वर्षको सोही अवधिमा ९ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको थियो।
कम्पनीले पहिलो तीन महिनामा कुल २ अर्ब ५५ करोड ३८ लाख रुपैयाँ आम्दानी गरेको छ। यस अवधिमा कम्पनीले १ अर्ब ७८ करोड ९३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो रकम १ अर्ब ५९ करोड ८२ लाख रुपैयाँ थियो। त्यस्तै कम्पनीले लगानी तथा कर्जाबाट ६६ करोड ९७ लाख रुपैयाँ आम्दानी गरेको छ।

कम्पनीको जीवन बीमा कोषमा पनि उल्लेख्य वृद्धि भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा ३० अर्ब ६१ करोड ४४ लाख रुपैयाँ रहेको जीवन बीमा कोष चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म बढेर ३४ अर्ब ३९ करोड ४० लाख रुपैयाँ पुगेको छ। त्यस्तै कम्पनीको कुल सम्पत्ति ४० अर्ब ९६ करोड ११ लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो सम्पत्ति ३९ अर्ब ७३ करोड ९० लाख रुपैयाँ थियो।
कम्पनीको सक्रिय बीमालेख संख्या ९ लाख ७७ हजार ३२७ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या ६ लाख ९६ हजार ३७५ थियो। समीक्षा अवधिमा कम्पनीले १ लाख ५३ हजार ७५९ वटा नयाँ बीमालेख जारी गरेको छ। नयाँ बीमालेखबाट ४६ करोड ९९ लाख रुपैयाँ प्रथम वर्ष बीमाशुल्क संकलन भएको छ भने नवीकरण बीमाशुल्कबाट १ अर्ब ३९ करोड ७२ लाख रुपैयाँ आम्दानी भएको छ।











