खराब कर्जाको चपेटामा फरवार्ड माइक्रोफाइनान्स, मुनाफामा समेत गिरावट

काठमाडौँ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा घटेको छ। संस्थाले सार्वजनिक गरेको चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा ४ करोड १३ लाख ८० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले ५ करोड ७१ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। गत वर्षको तुलनामा संस्थाको नाफा २७.६ प्रतिशतले घटेको हो।
समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी भने बढेको छ। गत वर्षको पहिलो त्रैमासमा ३३ करोड ३९ लाख ५५ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ३६ करोड ५३ लाख ९९ हजार रुपैयाँ पुगेको छ।
त्यस्तै, शुल्क तथा कमिसन आम्दानीबाट हुने खुद आम्दानी ३ करोड ३० लाख ८७ हजार रुपैयाँबाट बढेर ३ करोड ९७ लाख ९० हजार रुपैयाँ पुगेको छ। यस अवधिमा संस्थाको कुल सञ्चालन आम्दानी ४१ करोड ३७ लाख ८९ हजार रुपैयाँ रहेको छ, जुन गत वर्षको सोही अवधिको ३७ करोड ४५ लाख ६७ हजार रुपैयाँभन्दा बढी हो।
संस्थाको कर्जा गुणस्तरमा देखिएको दबाब वित्तीय विवरणको अर्को महत्वपूर्ण पक्ष बनेको छ। गत आर्थिक वर्षको असोज मसान्तमा ८.२० प्रतिशत रहेको खराब कर्जा अनुपात चालु आर्थिक वर्षको सोही अवधिमा बढेर १८.१३ प्रतिशत पुगेको छ।
वित्तीय अवस्थातर्फ संस्थाको कुल सम्पत्ति असोज मसान्तमा २३ अर्ब ६० करोड ३८ लाख रुपैयाँ रहेको छ। गत असार मसान्तमा यस्तो सम्पत्ति २३ अर्ब ८९ करोड १४ लाख रुपैयाँ थियो। संस्थाले ग्राहकलाई प्रवाह गरेको कर्जा तथा सापटी २० अर्ब ५४ करोड ९२ लाख रुपैयाँ रहेको छ भने ग्राहकबाट संकलित निक्षेप ११ अर्ब ५४ करोड २७ लाख रुपैयाँ पुगेको छ। गत असार मसान्तको तुलनामा कर्जा प्रवाह घटेको देखिए पनि निक्षेप संकलनमा वृद्धि भएको छ। त्यस्तै, बैंक तथा वित्तीय संस्थाबाट लिएको सापटी ८ अर्ब ४० करोड ४५ लाख रुपैयाँ रहेको छ।
नाफा घटेसँगै संस्थाको प्रतिसेयर आम्दानी पनि प्रभावित भएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४ रुपैयाँ ७८ पैसा रहेको प्रतिसेयर आम्दानी चालु आर्थिक वर्षको समीक्षा अवधिमा घटेर ३ रुपैयाँ ४६ पैसामा सीमित भएको छ।











