ठूला विपत्तिका दाबी व्यवस्थापनमा प्रभु इन्स्योरेन्स सक्षम, ‘बीबीबी प्लस’ रेटिङ यथावत्

काठमाडौं । बीमा क्षेत्रमा प्राकृतिक विपत्ति, सामाजिक आन्दोलन तथा अन्य आकस्मिक घटनाबाट सिर्जना हुने ठूलो परिमाणको बीमा दाबी भुक्तानी गर्नु चुनौतीपूर्ण मानिन्छ । तर, प्रभु इन्स्योरेन्स लिमिटेडले यस्ता चुनौतीपूर्ण परिस्थितिमा समेत आफ्नो वित्तीय सक्षमता, पर्याप्त तरलता र पुनर्बीमा व्यवस्थामार्फत दायित्व बहन गर्ने क्षमता कायम राखेको छ । यही सबल पक्षलाई आधार मान्दै इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले कम्पनीको जारीकर्ता ऋण मूल्याङ्कन ‘आईआरएन बीबीबी प्लस’ यथावत् राखेको हो ।
यसअघि नकारात्मक प्रभावसहित निगरानीमा राखिएको मूल्याङ्कनलाई निगरानी सूचीबाट समेत हटाएको छ । यस मूल्याङ्कनले कम्पनीमा वित्तीय दायित्व समयमै भुक्तानी गर्ने मध्यम स्तरको सुरक्षा र जोखिम वहन गर्ने क्षमता रहेको जनाउँछ ।
सन् २०२५ सेप्टेम्बरमा भएको आन्दोलनका क्रममा कम्पनीमा परेको बीमा दाबीको भार व्यवस्थापन गर्ने क्षमतामा सुधार देखिएपछि मूल्याङ्कन पुनः यथावत् राखिएको हो । उक्त घटनाका कारण कम्पनीमा १११ वटा दाबीबाट करिब २१ करोड १० लाख रुपैयाँ बराबरको प्रारम्भिक दायित्व सिर्जना भएको थियो । कुल दाबीमा कम्पनीको आफ्नो वहन अनुपात करिब ३४ प्रतिशत रहेको थियो । मूल्याङ्कन प्रतिवेदनअनुसार मूल्याङ्कनकर्ता तथा सर्वेक्षकबाट अन्तिम मूल्याङ्कन भएपछि पुनर्बीमकको हिस्सासमेत समावेश गरी कम्पनीमा पर्ने अन्तिम लागत करिब चार करोड ६० लाख रुपैयाँ हुने व्यवस्थापनको अनुमान छ । अधिकांश दाबी भुक्तानी भइसकेका छन् भने करिब ३० लाख रुपैयाँ बराबरको दाबी मात्र भुक्तानी हुन बाँकी रहेको छ । यसले आकस्मिक घटनाबाट सिर्जित दाबी व्यवस्थापनमा कम्पनीको सक्रियता र भुक्तानी क्षमतालाई प्रतिबिम्बित गरेको छ ।
त्यसैगरी, सन् २०२६ अगस्टमा भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण प्रभु इन्स्योरेन्समा करिब ४० करोड ३० लाख रुपैयाँ बराबरको बीमा दाबी पर्ने अनुमान गरिएको छ । यति ठूलो परिमाणको सम्भावित दायित्वका बाबजुद कम्पनीको पर्याप्त तरलता, बलियो पुँजी आधार र व्यवस्थित पुनर्बीमा व्यवस्थाले दाबी भुक्तानीमा ठूलो वित्तीय दबाब नपर्ने अपेक्षा गरिएको छ । कम्पनीको पुँजी पर्याप्तता अनुपात सन् २०२६ जुलाई मध्यसम्म ५.४८ गुणा पुगेको छ, जबकि नियामकीय न्यूनतम आवश्यकता १.३० गुणा मात्रै रहेको छ । नियामकीय सीमाभन्दा निकै माथि रहेको यस अनुपातले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा पर्याप्त आधार रहेको देखाउँछ । नाफा सञ्चितिमा वृद्धि, सुधारिएको बीमा व्यवसाय र प्रभावकारी जोखिम व्यवस्थापनले समेत कम्पनीको वित्तीय अवस्थालाई थप सबल बनाएको छ ।
इन्स्योरेन्सको वित्तीय अवस्थामा पछिल्ला दुई आर्थिक वर्षमा उल्लेखनीय सुधार देखिएको छ । कम्पनीको कुल बीमा शुल्क आर्जन आर्थिक वर्ष २०८०/८१ मा एक अर्ब ७७ करोड ८० लाख रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०८१/८२ मा बढेर एक अर्ब ८६ करोड ९० लाख रुपैयाँ पुगेको थियो । आर्थिक वर्ष २०८२/८३ मा थप वृद्धि भई दुई अर्ब दुई करोड ३० लाख रुपैयाँ पुगेको छ । यद्यपि, कुल निर्जीवन बीमा बजारमा कम्पनीको हिस्सा करिब चार प्रतिशत रहेको छ ।
कम्पनीको वित्तीय सुधारमा सबैभन्दा महत्त्वपूर्ण योगदान दाबी अनुपातमा आएको कमी र खर्च व्यवस्थापनमा देखिएको सुधारको रहेको छ । आर्थिक वर्ष २०८०/८१ मा करिब ३८ प्रतिशत रहेको खुद दाबी अनुपात आर्थिक वर्ष २०८१/८२ मा ४० प्रतिशत पुगेको थियो भने आर्थिक वर्ष २०८२/८३ मा उल्लेखनीय रूपमा घटेर करिब ३१ प्रतिशतमा झरेको छ । यो अनुपात उद्योगको औसतभन्दा निकै कम रहेको मूल्याङ्कन प्रतिवेदनमा उल्लेख छ । जोखिमको उपयुक्त छनोट, विवेकपूर्ण बीमा लेखाङ्कन तथा पर्याप्त पुनर्बीमा व्यवस्थाले प्रतिकूल परिस्थितिमा समेत दाबीको भार नियन्त्रण गर्न सहयोग पुर्याएको देखिन्छ ।
सन् १९९५ मा स्थापना भएको इन्स्योरेन्स नेपालको पुरानो निर्जीवन बीमा कम्पनीमध्ये एक हो । तीन दशकभन्दा लामो सञ्चालन अनुभव हासिल गरेको कम्पनीले समयअनुसार बदलिँदो आर्थिक, सामाजिक, औद्योगिक तथा राजनीतिक परिस्थितिमा आफ्नो व्यवसायलाई निरन्तरता दिँदै आएको छ । कम्पनीको सञ्चालक समितिको नेतृत्व राजेन्द्र मल्लले गरिरहेका छन् । बैंकिङ तथा बीमा क्षेत्रमा दशकौँको अनुभव हासिल गरेका मल्ललाई अन्य सञ्चालक तथा व्यवस्थापन समूहले सहयोग गर्दै आएका छन् । प्रमुख कार्यकारी अधिकृत सञ्चित बज्राचार्यसँग बीमा क्षेत्रमा २९ वर्षभन्दा बढीको अनुभव रहेको छ ।
कम्पनीको देशव्यापी सेवा सञ्जाल पनि यसको अर्को सबल पक्ष हो । इन्स्योरेन्सले हाल देशभर ५७ शाखामार्फत बीमा व्यवसाय विस्तार तथा ग्राहकलाई बीमापछिको सेवा प्रदान गर्दै आएको छ । सन् २०२६ जुलाई मध्यसम्म कम्पनीको चुक्ता पुँजी एक अर्ब ८४ करोड ९० लाख रुपैयाँ र खुद सम्पत्ति तीन अर्ब ५७ करोड १० लाख रुपैयाँ रहेको छ । कम्पनीमा प्रवद्र्धक र सर्वसाधारणको सेयर स्वामित्व अनुपात क्रमशः ५१ र ४९ प्रतिशत रहेको छ । प्रमुख सेयरधनीमध्ये कर्मचारी सञ्चय कोषको १६.८५ प्रतिशत, प्रभु बैंक लिमिटेडको १०.९१ प्रतिशत र देवीप्रकाश भट्टचनको ६.०३ प्रतिशत सेयर स्वामित्व रहेको छ ।











